आषाढ ४, रूपन्देही। देवदह नगरपालिकामा कार्यरत मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। नगरपालिकाको न्यायिक समितिको आयोजनामा सोमवारदेखि सुरु भएको तालिम बुधवार सम्पन्न भएको हो।
समापन कार्यक्रममा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले मेलमिलापकर्ताहरूले सामाजिक विवाद समाधानमा सरल, व्यावहारिक र समस्या–केन्द्रित दृष्टिकोण अपनाउनु आवश्यक रहेको बताए। तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै उहाँले यसले न्यायिक प्रक्रियालाई सहज बनाउने धारणा व्यक्त गर्नुभयो।
उपप्रमुख तथा न्यायिक समिति संयोजक विद्यालक्ष्मी गुरुङले सामान्य विवादका विषयमा अदालत धाउने प्रवृत्तिलाई न्यूनीकरण गर्न मेलमिलापकर्ताको सक्रियता निर्णायक हुने बताइन्। उनले गुणस्तरीय न्याय सम्पादनका लागि मेलमिलापकर्ताको भूमिका अझ प्रभावकारी बनाउने हेतुले न्यायिक समितिले तालिमलाई प्राथमिकतामा राखेको जानकारी दिइन्।
तालिममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, प्रशिक्षार्थी डिल्लीराज मरासीनी, एलिना हमाललगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
तालिमको सहजीकरण मेलमिलाप परिषद्का सुचिकृत प्रशिक्षक वरिष्ठ अधिवक्ता हेमा न्यौपाने र राधा अधिकारी भट्टराईले गरेका थिए।
९४ जना सुचिकृत मेलमिलापकर्ताको सहभागिता रहेको तालिम मीना भुषालको सञ्चालनमा सम्पन्न भएको हो।