कपिलवस्तु, जेठ ३० गते। प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन र विद्यालय प्रशासनमा पारदर्शिता कायम गर्ने उद्देश्यका साथ बुद्धभूमि नगरपालिकाले आफ्ना सार्वजनिक विद्यालयहरूलाई ई-हाजिरी प्रणाली तथा प्रारम्भिक बालविकास कक्षाका लागि स्मार्ट टिभी वितरण गरेको छ।

नगरपालिकाले आयोजित एक विशेष कार्यक्रममा ५३ वटा विद्यालयहरूलाई ई-हाजिरी प्रणाली र २३ वटा विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख केशव कुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत वासुदेव भट्टराई र कार्यक्रम सञ्चालन शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले गरेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले शिक्षालाई प्रविधिसँग जोडेर पारदर्शिता र उत्तरदायित्व बढाउने लक्ष्य रहेको बताए। “विद्यालयमा शिक्षक तथा कर्मचारीहरूको नियमित उपस्थिति सुनिश्चित गर्न ई-हाजिरी प्रणाली कार्यान्वयन गरिएको हो,” उहाँले भन्नुभयो। साथै उहाँले आगामी दिनमा प्रविधिको प्रभावकारी प्रयोगमार्फत गुणस्तरीय र उत्तरदायी शिक्षा प्रणाली निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत भट्टराईले स्मार्ट टिभी प्रयोगले विशेष गरी प्रारम्भिक बालविकास कक्षामा अध्ययन प्रक्रियालाई सहज, रोचक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
नगरपालिकाले आगामी दिनहरूमा समेत शिक्षामा प्रविधिको उपयोगमार्फत शैक्षिक सुधार, डिजिटल पहुँच र सुशासन सुनिश्चित गर्ने कार्यक्रमहरू अघि बढाइने जनाएको छ।