लुम्बिनी
बुद्धजन्मस्थल लुम्बिनीमा यही असोज २ गतेदेखि ४ गतेसम्म ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा उक्त तीनदिने सम्मेलन आयोजना गर्न लागिएको हो।
लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुने यस सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधबार लुम्बिनीमा एक पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश) ले गर्ने कार्यक्रम तय छ।
विश्व बैंकको सहयोगमा अघि बढाइएको ‘ग्लाण्ड’ (GLAND) परियोजनाअन्तर्गत आयोजना गरिएको यस सम्मेलनमा नेपाल सरकारको सोही परियोजना कार्यान्वयनलाई केन्द्रमा राखिनेछ। युनेस्को संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाका अनुसार सम्मेलनमा उच्चपदस्थ सरकारी अधिकारी, बौद्ध धर्मगुरु, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधिको सहभागिता रहनेछ।
भारत, श्रीलंका, इन्डोनेसिया, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्डलगायतका देशका विज्ञसहित १५० जना प्रत्यक्ष र अनलाइन रजिष्ट्रेशनमार्फत १०० जना गरी कुल २५० भन्दा बढी व्यक्तित्वहरू सम्मेलनमा सहभागी हुनेछन्।
तीन दिनसम्म चल्ने सम्मेलनमा बृहत्तर लुम्बिनी क्षेत्रको रूपान्तरण, सम्पदा संरक्षण, पर्यटक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण, स्थानीय रोजगारी प्रवर्द्धन र समावेशी आर्थिक विकासमा केन्द्रित रहेर गहन छलफल हुनेछ। युनेस्कोका अनुसार सम्मेलन अवधिभर बौद्ध ध्यान, बौद्ध धर्मगुरुहरूसँग संवादका साथै लुम्बिनी र तिलौराकोट–कपिलवस्तुको स्थलगत अवलोकन समेत गराइनेछ।
सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संरक्षणका सम्बन्धमा विश्व सम्पदा समितिले सन् २०२६ मा नेपाललाई थप काम गर्न आग्रह गरिसकेको छ। बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत प्राचिन तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुरजस्ता महत्वपूर्ण पुरातात्विक एवं धार्मिक स्थलहरू पर्दछन्। सैद्धान्तिक बहसलाई ठोस कार्यदिशामा परिणत गर्ने लक्ष्य राखिएको यो सम्मेलन साझा घोषणापत्र जारी गर्दै सम्पन्न हुने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बताए।