बुटवल । तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई विशेष अदालतले दोषी ठहर गरेको छ। वडाध्यक्ष यादवसँगै घुस लेनदेनमा संलग्न व्यापारी विपिनकुमार पाण्डेयलाई पनि अदालतले दोषी ठहर गरेको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार दोषी ठहर भएका यादव र पाण्डेय दुवैलाई जनही एक वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ।
वडाअन्तर्गतका विभिन्न विकास योजनाहरू सम्पन्न भएपछि भुक्तानीको सिफारिस गरिदिने प्रयोजनका लागि वडाध्यक्ष यादवले सेवाग्राहीसँग घुस माग गरेका थिए। उनले सो रकम सिद्धार्थनगर नगरपालिका–९ स्थित ‘श्री गणेश ट्रेडिङ’का सञ्चालक विपिनकुमार पाण्डेयमार्फत बुझेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले गत २३ असारमा उनीहरूलाई तीन लाख रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो।
यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मर्चवारी गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार योजनाको भुक्तानी सिफारिस रोकेर घुसका लागि बार्गेनिङ गरेको पुष्टि भएपछि उनीहरूमाथि मुद्दा चलाइएको थियो।