तौलिहवा,
तराई–मधेसका अन्य जिल्लाहरू झैँ कपिलवस्तु पनि पछिल्लो समय धार्मिक संवेदनशीलताको केन्द्र बन्दै गएको छ। शनिबार महाराजगञ्ज नगरपालिका–२, बगदामा भएको सामप्रदायिक झडपले यहाँको पुस्तौँदेखिको हिन्दु–मुस्लिम सहअस्तित्वमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।
घटनाको मुख्य कारण ‘भजन भर्सेस नमाज’ देखिएको छ। स्थानीय मस्जिदमा नमाज भइरहेका बेला नजिकैको काली मन्दिरमा चर्को स्वरमा भजन बजाइएको भन्दै सुरु भएको विवादले क्षणभरमै उग्र साम्प्रदायिक रूप लिएको थियो। मन्दिरको साउन्ड सिस्टम र मूर्ति तोडफोड भएपछि प्रतिकार स्वरूप ढुङ्गामुढा सुरु भएको थियो।
प्रहरीका अनुसार झडपमा २३ जना घाइते भएका छन्, ५ जनाको अवस्था गम्भीर छ जसमध्ये ४ जनालाई प्रहरीको गोली लागेको छ। यसैबिच चैत ७ गते शनिबार दिउँसो २ बजेदेखि महाराजगञ्ज क्षेत्रमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञालाई आइतबारदेखि थप विस्तार गरिएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार, काली मन्दिर तोडफोड गरेको आरोपमा ६ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी प्रहरीको गोली लागि घाइते भएका चारैजना उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको डीएसपी सिंहले बताए । उनले भने, “सर्वपक्षीय बैठकले गरेको समझाौता बिपरीत बजार बन्दा गराउदै हिडेका तौलिहवा गौढी चोकबाट चार जना र कृष्णनगरबाट दुई जनागरी कुल ६ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।” प्रहरीले तौलिहवा बजारको गौढी चोकबाट अन्तरास्ट्रिय हिन्दू परिषद् नेपालका राज्य प्रभारी मनोज शुक्ल, जिल्ला अध्यक्ष वीरेन्द्र चौधरी, विश्व हिन्दू परिषद् नेपालका जिल्ला उपाध्यक्ष सुनील तिवारी र एकजना स्थानीय बिनोद कान्दुलाई सोमबार नियन्त्रण लिएर सोही बेलुका रिहा गरेको छ ।
गत शनिबार महाराजगंज नगरपालिकाको वगदामा रहेको काली मन्दिरमा तोडफोड गरेको आरोपमा ६ जनालाई पक्राउ गरी सम्बन्धित निकायबाट म्याद थपगरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरूमा सलमान खाँन पठान (२२), महेताब अहमद धुनिया (१८), अब्दुल अख्तर खाँ (२६), अजमतअली मुसलमान (१९), राहत हुसेन मुसलमान (५६) र मोहम्मद हुसेन मुसलमान (५७ ) रहेका छन ।
कपिलवस्तुमा धार्मिक झडपको इतिहास नयाँ होइन, तर यसको आवृत्ति बढ्दो छ। कृष्णनगरमा विगतका वर्षहरूमा लक्ष्मी पूजा र दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा रुट (बाटो) विवादलाई लिएर पटक–पटक झडप भएका छन्।
२०७६ सालमा कृष्णनगरमा मूर्ति विसर्जनकै क्रममा भएको झडपपछि लगाइएको कर्फ्यू र प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको घटना अझै ताजै छ। २0८२ पौष ३ गते तौलिहवा स्थित बुद्ध पद्म मा.बि.को खेल मैदानमा रहेको श्री राम यज्ञशालामा आगजनी भएको थियो र १८ गते मायादेबी गाउपालिकाको पकडीमा काटिएको गाईको टाउको फेला परेको थियो ।
त्यसैगरी २०८२ पौष २१ गते रातीको समयमा अज्ञात समुहबाट शुद्धोधन गाउपालिका -६ बाँसखोरमा रहेको मस्जिदमा जडान गरिएको मिनार र माईकमा तोडफोड गरेको थियो । त्यसले समेत दङगा नभडकिएपछि २०८२ पौष २६ गते राती पुनः दोश्रो पटक मायादेवी गाउपालिकाको केन्द्र पकडिमा गाइको काटिएको टाउको फालिएको अवस्थामा फेला परेको थियो ।
कृष्णनगर, तौलिहवा, पकडी र बगदा जस्तै धेरै ठाउँमा मन्दिर र मस्जिदहरू नजिकै छन्। एकातिरको लाउडस्पिकरको स्वर अर्को पक्षका लागि ‘अवरोध’ बन्ने गरेको छ भने टिकटक र फेसबुकमा एक–अर्काको धर्मलाई होच्याएर राखिने बिभिन्न असमाजिक पोस्टहरूले यहाँका युवाहरूलाई उत्तेजित बनाउने गरेको प्रहरी उपरीक्षक सन्तोष आचार्यको भनाई छ।
कपिलवस्तुमा धार्मिक द्वन्द्व बढ्नुमा स्थानीय मात्र नभई बाह्य कारणहरू पनि जिम्मेवार छन्। निर्वाचनका समयमा हुने धार्मिक एजेन्डाको प्रयोगले भुसको आगो झैँ काम गरिरहेको छ। भारतीय सीमासँग जोडिएकाले सीमापारि हुने धार्मिक गतिविधि र त्यहाँका कट्टरपन्थी सोचको प्रभाव कपिलवस्तुका सीमावर्ती बजारहरूमा छिटो सर्ने गरेको देखिन्छ। रोजगारीको अभावमा खाली रहेका युवाहरू सामाजिक सञ्जालमा आउने अफवाहहरूको पछि लागेर तत्काल सडकमा उत्रिने गरेको देखिन्छन्।
यसपटकको बगदा घटनापछि मधेश मानव अधिकार गृह (माहुरी होम) र लुम्बिनी बचाउ महाअभियान जस्ता संस्थाहरूले तत्कालै विज्ञप्ति जारी गर्दै ‘धार्मिक सद्भाव’ को अपिल गरेका छन्। अधिकारकर्मी रबि ठाकुरका अनुसार, लुम्बिनी क्षेत्र शान्तिको प्रतीक भएकाले यस आसपासका जिल्लामा हुने यस्ता हिंसाले अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक सन्देश जाने डर छ।
कपिलवस्तुको महाराजगञ्ज, कृष्णनगर, तौलिहवा, पकडी र चन्द्रौटा जस्ता धार्मिक तथा सामाजिक रूपले अत्यन्तै संवेदनशील क्षेत्रमा पटक–पटक दोहोरिने साम्प्रदायिक तनावलाई सदाका लागि अन्त्य गर्न जिल्ला स्तरमा एक ‘स्थायी सद्भाव समिति’ गठन गर्नु अपरिहार्य देखिएको छ। गैरसरकारी संस्था महासंघका अध्यक्ष जे.पी. पाण्डेले भने, “यसमा ढिलाइ गर्नु घातक हुनेछ।”
हिन्दु र मुस्लिम लगायतका प्रमुख धर्मगुरुहरू, स्थानीय नागरिक अगुवा, बुद्धिजीवी र सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू सम्मिलित हुने यस्तो शक्तिशाली समितिले कुनै पनि विवाद उत्पन्न हुनासाथ गाउँ स्तरमै पुगेर तत्काल संवादको ढोका खोल्ने, भ्रम चिर्ने र अफवाह फैलाउने तत्वहरूलाई निरुत्साहित गर्दै शान्ति कायम गर्न सक्रिय भूमिका खेल्नुपर्छ। प्रशासनले लगाउने अस्थायी कर्फ्यू भन्दा स्थानीय समुदायकै अग्रसरतामा बन्ने यो संयन्त्रले आपसी अविश्वासलाई हटाउन, धार्मिक आचारसंहिता पालना गराउन र सदियौँदेखिको भाइचारालाई अक्षुण्ण राख्न दीर्घकालीन समाधानको रूपमा काम गर्ने विश्वास गरिएको छ।
प्रशासनले बल प्रयोगबाट स्थिति नियन्त्रणमा लिनु अस्थायी समाधान मात्र हो। दीर्घकालीन शान्तिका लागि महाराजगञ्ज, कृष्णनगर, तौलिहवा, पकडी र चन्द्रौटा जस्ता संवेदनशील क्षेत्रमा हिन्दु र मुस्लिम लगायतका धर्मगुरुहरू, नागरिक अगुवाहरू र सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू समेत सम्मिलित ‘स्थायी सद्भाव समिति’ गठन गरी तत्काल काम थाल्नुपर्छ। विशेष गरी नमाज र आरतीको समयमा आपसी समझदारीमा लाउडस्पिकरको आवाज नियन्त्रण गर्ने आचारसंहिता निर्माण गर्ने र भीडको आडमा सार्वजनिक सम्पत्ति तथा धार्मिक स्थल तोडफोड गर्नेलाई राजनीतिक संरक्षण नदिई कडा कानुनी दायरामा ल्याउनुपर्छ।
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले बगदा घटनालाई चेतावनीका रूपमा लिँदै भने, “हामी बुद्धको धर्तीमा छौँ, जहाँ हिंसाको कुनै स्थान छैन। तर सानो कुरालाई ठूलो बनाउने प्रवृत्तिले वर्षौँको भाइचारा खतरामा परेको छ। यदि समयमै संवाद र कानुनी शासनको प्रत्याभूति गरिएन भने, यो सानो झडपले भोलिका दिनमा ठूलो सामाजिक खाडल निर्माण गर्न सक्छ।”
त्यसैले, कपिलवस्तु जिल्लाको शान्ति केवल सुरक्षाकर्मीको बुट र लाठीले मात्र सम्भव छैन। यसका लागि स्थानीय समुदाय र नागरिक अगुवाहरूको सक्रिय सहभागिता, धर्मगुरुहरूको उदारता र प्रशासनको निष्पक्षता अनिवार्य छ। बरगदा घटनाले दिएको घाउलाई निको पार्न अब ‘कर्फ्यू’ बाट माथि उठेर ‘संवाद’ को टेबलमा बस्न ढिला भइरहेको संयोजक खाँको भनाइ छ।