भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले संघीय संसदमा आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिने भएका छन। मार्चवार क्षेत्रको पहिचान र भाषाप्रतिको सम्मानका लागि उनले भोजपुरीमा शपथ लिन लागेका हुन।
नेपालको संविधान र संघीय संसदको नियमावलीले सांसदहरूलाई आफ्नो मातृभाषामा शपथ लिन पाउने अधिकार प्रत्याभूत गरेको छ। सोही व्यवस्था अनुसार मा. बनियाले संसद सचिवालयमा भोजपुरी भाषामा शपथ लिने विवरण दर्ता गराएका छन।
शपथ ग्रहणको तयारीका बारेमा कुरा गर्दै उनले भने, “भोजपुरी हाम्रो मुटुको भाषा हो। संसदमा यो भाषामा शपथ लिँदा यहाँका लाखौँ नागरिकले गौरव महसुस गर्नेछन् र राज्यसँग उनीहरूको अपनत्व बढ्नेछ।” उनले आफ्नो कार्यकालमा क्षेत्रीय विकासका साथै भाषा र संस्कृतिको संरक्षणमा पनि जोड दिने बताए।
यसअघि लुम्बिनी प्रदेश सभा सदस्य रहँदा पनि उनले आफ्नो मातृभाषामा शपथ लिएका थिए । त्यहाँ पदमा रहदासम्म उनले स्थानीय मुद्दा, भाषा र संस्कृतिक पहिचानका पक्षमा आवाज उठाउँदै आएका थिए। यसपटक संघीय संसदमा पनि भोजपुरी भाषाको गुञ्ज सुनिने भएपछि स्थानीय स्तरमा उत्साह छाएको छ।
मार्चवार र लुम्बिनी क्षेत्रका नागरिकहरूले सांसद बनियाको यस कदमलाई स्वागत योग्य बताएका छन्। लुम्बिनी बचाउ महाभियानका संयोजक अकरम खाँनका अनुसार, राष्ट्रको सर्वोच्च निकायमा मातृभाषाको प्रयोग हुनुले भाषिक विविधताको सम्मान मात्र गर्दैन, बल्कि संघीयताको वास्तविक मर्मलाई पनि चरितार्थ गर्दछ।
सांसद बनियाले चैतको १२ गते हुने औपचारिक समारोहमा अन्य सांसदहरूसँगै सपथ ग्रहण गर्नेछन।