असार ३, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा “कपडा बैंक” स्थापना गरिएको छ। बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा र नगरपालिकाको आर्थिक सहयोगमा उक्त बैंकको मंगलबार उद्घाटन गरिएको हो।
बर्दघाट नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको कपडा बैंकमा सर्वसाधारणले नयाँ वा प्रयोग गर्न मिल्ने पुराना कपडा दान गर्न सक्नेछन्। जाडोयाममा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी यस अभियानले सामाजिक उत्तरदायित्वलाई संस्थागत बनाउने अपेक्षा गरिएको छ।
समारोहमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले “धेरैसँग कपडा थुप्रिँदा पनि प्रयोग हुँदैन, केहीसँग चाहिँ नहुँदा समस्या हुन्छ,” भन्दै कपडा बैंक सामाजिक समता कायम गर्न एक सार्थक पहल हुने बताए। उनले सबैलाई घरमा भएका प्रयोग गर्न मिल्ने कपडा कपडा बैंकमा उपलब्ध गराउन आह्वान गरे।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जेसिजले देशभरका १८४ स्थानीय तहमा कपडा बैंक स्थापना भइसकेको र प्राप्त कपडालाई प्रशोधन गरी प्रयोगयोग्य बनाएर वितरण गरिने जानकारी दिए।
बर्दघाट जेसिज २०२५ का अध्यक्ष जेसी मोहन सापकोटाले कपडा बैंक स्थापना गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै युवामैत्री नीति तथा योजना निर्माणमा युवा सहभागिता सुनिश्चित गरिनुपर्ने धारणा राखे।
कार्यक्रममा बर्दघाट जेसिजका संस्थापक अध्यक्ष तथा उद्योग व्यापार संघका अध्यक्ष राजु न्यौपाने, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्साल लगायतले शुभकामना मन्तव्य दिएका थिए।