आषाढ ६, रूपन्देही । रुपन्देहीको देवदहमा सहकारी संस्थाहरूको लेखा व्यवस्थापन, कर प्रणाली र E-TDS सम्बन्धी चारदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम जिल्ला सहकारी संघ, रुपन्देहीको आयोजना तथा देवदह नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
समापन समारोहमा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले सहकारीको सुदृढ विकासका लागि नगरपालिका सधैं सकारात्मक रहेको बताउँदै, सहकारीले संविधानअनुसार समुदायको जीवनस्तर सुधारमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो।
जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनले सहकारीमा हुने अनियमितता न्यूनीकरणका लागि प्रभावकारी अनुगमन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले शेयर सदस्यको जीवनस्तरमा सहकारीले वास्तविक प्रभाव पारेको छ कि छैन भन्ने विषयमा निरन्तर मूल्यांकन आवश्यक रहेको उल्लेख गर्नुभयो।
राष्ट्रिय सहकारी बोर्डका सदस्य टीका न्यौपाने तथा पूर्व सञ्चालक प्रकाश अर्यालले सहकारीमा देखिने समस्याहरूलाई समयमै पहिचान गरी समाधान गरिनु पर्नेमा जोड दिंदै, त्यसबाट सदस्यहरूको बचत सुरक्षित रहने विश्वास व्यक्त गरे।
तालिममा प्रशिक्षक मनोज खनाल र राम प्रसाद न्यौपानेले सहजीकरण गर्दै सहकारीका सिद्धान्त, मूल्य मान्यता, लेखाको महत्व, कोषको वर्गीकरण, चार खाता प्रणालीलगायत विषयमा व्यावहारिक अभ्याससहित समूहगत सिकाइ पद्धति अपनाएका थिए।
समापन समारोहमा सहभागीहरूको तर्फबाट विष्णु अर्याल, दीपक पौडेल र पूर्णकली खरेलले तालिम अत्यन्त उपयोगी भएको भन्दै सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।
चारदिने तालिममा देवदह क्षेत्रका विभिन्न सहकारी संस्थाबाट ६० जना सहकारीकर्मी सहभागी थिए। कार्यक्रम देवदह सहकारी सञ्जालका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षतामा तथा सुर्यकान्त रेग्मीको सञ्चालनमा सम्पन्न भयो।