असार ६,नवलपरासी। सरावल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।
यस पटकको सुनुवाई पालिकाको केन्द्र सरावलमा आयोजना गरिएको थियो, जसमा वडा नं. ३ र ४ का सेवा उपभोक्ताहरु सहभागी थिए। यसअघि बैशाख २६ गते वडा नं. १ र २ तथा जेष्ठ १७ गते वडा नं. ५, ६ र ७ लक्षित गरी चरणबद्ध रूपमा सुनुवाई सम्पन्न गरिएको थियो।
कार्यक्रममा उपस्थित नागरिकहरूले शिक्षा, कृषि, सडक, विद्युतिकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, सार्वजनिक जग्गा, ढल निकास, बालबालिका तथा खानेपानी सरसफाई लगायतका दर्जनौं महत्वपूर्ण विषयमा प्रश्नहरू र सुझावहरू राखेका थिए।
स्थानीय रामनाथ चौधरीले कर्मचारीहरूको भ्रमण खर्चको स्रोत र उद्देश्यबारे स्पष्ट पार्न माग गर्दै आलोचना समेत गर्नुभयो। उहाँले भ्रमणका क्रममा पालिकामा आपसी समन्वय हुन्छ कि हुँदैन भन्ने जिज्ञासा पनि व्यक्त गर्नुभयो।
गाउँपालिका अध्यक्ष सुखाडिप्रसाद चौधरीले नागरिकहरूले उठाएका प्रश्न र सुझावहरूलाई आगामी वर्षको नीति तथा बजेट निर्माणमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले गाउँपालिकाको योजना निर्माणमा जनसहभागिता अपरिहार्य रहेको भन्दै समावेशी बजेट बनाउने वाचा गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले गाउँपालिकाबाट चालु वर्षमा गरिएको सेवा प्रवाह र विकास कार्यहरूबारे जानकारी गराउँदै, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा उपाध्यक्ष बासमती हरिजन, वडा नं. ३ का अध्यक्ष फिरङ्गीप्रसाद चौधरी, वडा नं. ४ का अध्यक्ष सुरेशप्रसाद यादव, तथा कार्यपालिका सदस्य रामनिवास ठाकूर लगायतले प्रश्नहरूको जवाफ दिएका थिए।