लुम्बिनी । रूपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बनगाई–मर्चवार सडक खण्डको गरगट्टी चमारटोल मोडमा आज दिउँसो भएको एक सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भैरहवाबाट मर्चवारतर्फ बालुवा बोकेर आउदै गरेको लु २ ख २४७४ नम्बरको टिप्परले बिपरीत दिशाबाट भैरहवातर्फ जादै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामापरी सम्मरीमाई गाउँपालिका–५ रोइनिहवाका २० वर्षीय समिर खाँन र कोटहीमाई गाउँपालिका–४ बैरघाटका १८ वर्षीय शिवनाथ ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
सो मोटरसाइकल सवार ३ जनामध्ये मर्चवारी गाउँपालिका–५ का १८ वर्षीय अमित यादव घाइते भएका छन् । उनलाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
टिप्पर चालक बुटवल उपमहानगरपालिका–१९ का ४५ वर्षीय जगदीश चौधरीलाई हिरासतमा राखेर घटनाको अनुसन्धानकार्य भइरहेको इलाका प्रहरी कार्यालय मझगावाँ(मर्चवार)का प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।