बाल कृष्ण बन्जाडे, कपिलवस्तु । आठ वर्षे कार्यकाललाई समेट्दै बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले पालिकामा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन्।
थापाका अनुसार गाउँपालिका बनेपछि मात्रै कालोपत्रे सडकको सुरुवात भएको हो। अहिले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा करिब १०० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको छ। पुल, झोलुंगे पुल र कल्भर्टले गाउँ–गाउँमा पहुँच सहज भएको छ।
स्वास्थ्य क्षेत्रमा प्रारम्भमा बर्थिङ सेन्टर नै नभएको स्थानमा अहिले सञ्चालनमा ल्याइएको छ। नेपाल सरकारको नीति अनुसार १५ शैयाको अस्पताल निर्माण गरी दुई जना मेडिकल अफिसरसहित सेवा प्रवाह भइरहेको छ। साथै, स्वास्थ्य चौकी र खोप केन्द्रहरुको संख्या पनि बढाइएको छ।
खानेपानी तथा सरसफाईमा विपन्न जनतालाई शौचालय निर्माणमा सहयोग, ओभरहेड ट्यांकी र फिल्टर वितरण गरेर स्वच्छ पानीको पहुँच विस्तार गरिएको छ।
शिक्षामा भर्नादर करिव शत प्रतिशत पुगेको अध्यक्ष थापाले जानकारी दिए। विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राख्दै यस वर्ष मात्रै संघीय सरकार बाट ११ विद्यालयलाई एक–एक करोड रुपैयाँका योजना स्वीकृत गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रमा पनि गाउँपालिकाले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। व्यवसायिक कृषि, कुखुरा पालन, माछापालन र बाख्रापालनलाई अनुदानसहित प्रोत्साहन दिइएको छ। केही घरमा ३००–४०० बाख्रासम्म पालिने गरेको तथ्यांक रहेको अध्यक्ष थापाले उल्लेख गरे।
“जनप्रतिनिधि हुनु अवसर र सौभाग्य हो। जनताका पीडा समाधान गर्न पाउँदा आनन्द मिल्छ,” थापाले भने, “२४ सै घण्टा सतर्क रहनुपर्छ, चुनौतीलाई सकारात्मक रुपमा लिन सकियो भने असम्भव केही हुँदैन।”
पुरा अन्तरवार्ता तल भिडियोमा हेर्नु होला ।