खोजि गर्नुहोस..

छत्रकोटको जिपलाइनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

गुल्मी — गुल्मीको छत्रकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको साहसिक खेल जिपलाइनमा आन्तरिक पर्यटकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।

गाउँपालिकाको वडा नं. ३ स्थित छत्रकोट देवालय मन्दिरदेखि लुम्छास्थित देवी भगवती मन्दिरसम्म निर्माण गरिएको जिपलाइन गत पुस महिनाबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो। दुई महिनाको छोटो अवधिमा ८३६ जनाले जिपलाइनको अनुभव लिइसकेका छन्, जसबाट तीन लाख ८२ हजार नौ सय पचास रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले जानकारी दिए।

जिपलाइनको प्रयोग शुल्क गाउँपालिका क्षेत्रभित्रका नागरिकका लागि प्रतिव्यक्ति ४०० रुपैयाँ, विद्यार्थीका लागि ३०० रुपैयाँ, बाहिरी नागरिकका लागि ५०० रुपैयाँ तथा विदेशी पर्यटकका लागि १५०० रुपैयाँ तोकिएको छ।

गाउँपालिकाले छत्रकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित जिपलाइन परियोजना अघि बढाएको हो। “रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौं बास” भन्ने नारासहित गाउँपालिकाले धार्मिक, सांस्कृतिक र पुरातात्त्विक स्थलको संरक्षण र प्रचारप्रसारमा जोड दिँदै आएको छ, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

एक हजार ८० मिटर लम्बाइ र ६७ मिटर उचाइ रहेको जिपलाइनमा, तौलअनुसार १५ देखि २० मिटर प्रतिसेकेन्डको गतिमा यात्रा गरिन्छ, जसले गर्दा सुरुबिन्दुबाट अन्त्यबिन्दु पुग्न ५५ देखि ७७ सेकेन्ड लाग्ने अनुमान गरिएको छ।

जिपलाइन निर्माणमा कुल ८६ लाख ७३ हजार एक सय ४४ रुपैयाँ खर्च भएको छ। लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको साझेदारीमा सानु सेतीदेवी कन्ट्रक्सन प्रा.लि.द्वारा निर्माण सम्पन्न गरिएको हो।

मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक नजिकै निर्माण गरिएको यो जिपलाइनले धार्मिक स्थल छत्रकोट देवालयमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधामा टेवा पुर्‍याएको छ। पालिकाले यसलाई जिल्लाकै प्रमुख पर्यटकीय आकर्षण केन्द्रको रूपमा अघि बढाउने आशा राखेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *