खग प्रसाद चापागाई, कपिलवस्तु
साँझ रोजाको ईफ्तारीको समय भयो, पटका पडकाएर रोजा खोल्ने समय भएको सुचित गरियो । दिल्लीको जामा मस्जिद परिसरमा जम्मा भएका हजार बढिको संख्यामा दिनभर रोजा बसेका मुस्लिम समुदायका सबैले रोजाको ईफ्तारी शुरु गरे । त्यहाँ रोजा खोल्न जम्मा भएका सयौँका संख्यामा रहेका व्यक्ति ईफ्तारीमा परिवार सहित सरिक भए । बिचमा प्लास्टिकको च्यादर राखेर चारै तर्फ परिवारका साना ठुला सबै सदस्यले लहरै बसेर बिभिन्न खानेकुरा खाएर रोजाको ईफ्तारी गरेको दृश्य मेरा लागी रोचक थियो । रोजाको ईफ्तारीमा परिवारका बृद्ध, महिला, बालबालिका सहित ठुला साना सबै सदस्य बिना भेदभाव एकै साथ सरिक भएको दृश्य मैले पहिलो पटक देखेको थिए । जसरी रोजा सबैले समान रुपमा राख्छन, त्यसै गरि परिवारका सबै सदस्य ईफ्तारीमा सहभागी हुनु आफैमा नौलो थियो । ईस्लाम धर्म महिला प्रति अलि बढि नै संकुचित हो कि भन्ने मेरो बुझाई सायद गलत साबित भएको थियो । रमजानले परिवारीक मिलन, समानता, सहभागिता र सहअस्तित्वलाई पुर्ण रुपमा प्रोत्साहित गरेको छ भन्ने मेरो ठम्याई रह्यो ।

फागुन २१ गते रमजानको चौथो दिन भारतको नयाँ दिल्ली स्थित जामा मस्जिदमा पुग्दा मुस्लिम समुदायको रोजा खोल्ने समय भयो । चाँदनी चोकको घुमघाम पछि हामी जामा मस्जिद सेरोफेरोमा घुम्दै थियौं । संबिधानसभाका सदस्य तथा काँग्रेस नेता अतहर कमालको गुडगाउँको मेदान्ता अस्पतालमा मुटुको शल्यक्रिया पश्चात उहाँ फ्लोअप उपचारमा त्यहि हुनुहुन्थ्यो । यस पटकको दिल्ली यात्रा हाम्रो लागि अतहर कमाल दाजुलाई भेटमा मात्रै केन्द्रित थियो । राती अयोध्या देखी दिल्ली सम्मको बन्दे भारत रेलको यात्रा र आनन्दबिहार देखी गुडगाँउ सम्मको यात्रा गरेर हामी डेढ बजे राती मात्रै मेदान्ता अस्पताल नजिकको पशुपतिनाथ होटलमा पुगेका थियौँ । बिहान अतहर कमाल दाजु सँग भेटघाट गरेर स्वास्थ्य अवस्थाको जानकारी लिए पछि दिउसो सम्म सगैँ बसेर हामी मध्यान्ह मेट्रो सिटीबाट मेट्रो ट्रेनको यात्रा गरेर चाँदनी चोक पुगेका थियौं । त्यहाँ घुमघाम गर्दै हामी जामा मस्जिद पुग्दा साँझ पर्न थालेको थियो ।
चाँदनी चोकलाई दिल्लीको मुटु मान्ने गरिन्छ । हामी सगैँ यात्रामा रहेका फुलिकाका दाजु मोहम्मद मोहसिन र तौलिहवाका भाई मोहमद मुस्तफा सगै दाजु अजहर कमाल (अतहर कमालका कान्छा भाई) जामा मस्जिद पुगेका थियौ । उहाँहरु रोजा बस्नु भएको थियो । हिजरी क्यालेन्डर अनुसार रमजान महिनाको चौथो तारिकमा रोजा खोल्नका लागि दाजु अजहर कमालको नेतृत्वमा ईफ्तारीको तयारी भयो । हामी पनि उहाँ सगै जामा मस्जिद भित्र गयौँ । रमजान महिनाको समयमा दिनभरको उपवास (रोजा) तोड्ने कार्य ईफ्तारी हो । रोजामा बिहान सुर्योदय पुर्व तोकिएको समयमा सेहरी गरेर उपवास गर्ने चलन हुन्छ । त्यस पछि संयमता अपनाउदै कुरआन पाठ, जिकिर र नमाजमा ध्यान गर्ने गरिन्छ । रमजानको चौथो दिन साँझ ६ बजेर २४ मिनटमा ईफ्तारीको लागि निर्धारित समय थियो । ईफ्तारी गर्दा खजुर, फलफुल, झोलिलो परिकार, मिठाई, समोसा, पकौडा, रोल्सहरु, खिर, हलुवा, गुलाब जामुन आदी खाने गरिन्छ । अजहर कमालको नेतृत्वमा उहाँहरुले खजुर, पकौडा, केक र ससेज व्यवस्थापन गरि ईफ्तारीको तयारी गर्नु भएको थियो । निर्धारित समयमा ईफ्तारी भयो । सो पश्चात उहाँहरुले जामा मस्जिदमा नमाज पढ्नु भयो । ईफ्तारीका क्रममा हाम्रा लागी पनि खानका लागी बिभिन्न परिकारको व्यवस्था गर्नु भएको थियो । जामा मस्जिद सम्म पुगेका ध्यानेन्द्र मणी त्रिपाठी दाई, मोहरत कुर्मी दाई र म सहित हामी ६ जना सगैँ थियौ । हामीले पनि पकौडा, केक खाएर मस्जिद परिसरमा फोटोहरु खिच्यौं ।

सन्दर्भ जोडौँ, जामा मस्जिदको ऐतिहासिकताको । भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित जामा मस्जिद भारतकै सबैभन्दा ठूलो मस्जिदहरू मध्ये एक मानिन्छ । यसलाई मुगल बादशाह शाहजहाँ ले सन् १६५० देखि १६५६ को बीचमा बनाएका थिए । यो ऐतिहासिक मस्जिद पुरानो दिल्लीको चाँदनी चौक नजिकै छ । मुगल वास्तुकलामा आधारित भएर निर्माण भएको सो मस्जिदमा एक पटकमा २५ हजार बढिले नमाज अदा गर्न सक्ने क्षमता रहेको छ । रातो बालुवा ढुंगा र सेतो संगमरमरको प्रयोग गरि निर्माण गरिएको मस्जिदमा तीन ठूला गुम्बज सगै ४० मिटर अग्ला दुई वटा मीनारहरु छन । शाहजहाँले यो मस्जिदलाई दिल्लीको प्रमुख इस्लामी उपासना स्थलको रुपमा बनाएका थिए । मुगल शासकहरूको यहि नै नमाज अदा गर्ने स्थल थियो ।
मैले जामा मस्जिदमा परिवारले सामुहिक ईफ्तारी गरेको बिषयमा नौलो मानेर बुझ्ने प्रयास गरें । ईस्लाम समुदायमा महिला सहभागितालाई महत्वपुर्ण मानिने रहेछ । ईस्लामले महिलाका लागी अधिकार र कर्तव्यहरु दिएको रहेछ । इस्लाम धर्ममा महिलाहरूको सहभागीता महत्वपूर्ण छ र यस धर्मले महिलाहरूलाई धेरै अधिकार र कर्तव्यहरू दिएको रहेछ । इस्लामका प्रारम्भिक समय देखि महिलाहरूले धार्मिक, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रूपमा भाग लिएका छन् । इस्लामले महिलालाई शिक्षा प्राप्त गर्नको लागि अधिकार दिएको तथ्य बारे जानकारी पाईयो । त्यसै गरि महिलालाई सम्पत्ति स्वामित्व, वंशावली अधिकार र विवाहमा सहमति दिने अधिकार समेत छ । त्यसै गरि राजनीतिक सहभागीता, सामाजिक भुमिका, आध्यात्मिक अधिकारका सन्दर्भमा अधिकार र कर्तव्यको सुनिश्चितता गरको रहेछ । रोजाको ईफ्तारीमा परिवारका सबै सदस्यहरुको समान सहभागीताले सहभागीता, समानता र सहअस्तित्वलाई स्विकार गरेको भाई मोहम्मद मुस्तफाले जानकारी गराए । त्यस पछि हामी जामा मस्जिद हुदै हाम्रो निर्धारित गन्तब्य तर्फ अगाडी बढ्यौं ।
(सञ्चारकर्मी खग प्रसाद चापागाई कपिलवस्तुमा रहेर पत्रकारिता गर्दछन । खोजी पत्रकारिता र अधिकारमुखी अवधारणमा केन्द्रित भई उनले समाचार लेख्ने गरेका छन ।)