पाल्पा । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को प्रगति समेटेर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत नागरिकहरूले विभिन्न क्षेत्रका योजनामा प्रतिक्रिया दिँदै बहुमूल्य सुझावहरू प्रदान गरेका छन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले आर्थिक तथा भौतिक प्रगतिबारे जानकारी गराउँदै पालिकाले हालसम्म कुल ५५.९९ प्रतिशत बजेट खर्च गरिसकेको र आन्तरिक आम्दानीतर्फ ८०.६९ प्रतिशत संकलन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार पालिकामा मोटरबाटो कालोपत्र, स्तरोन्नति, भवन निर्माण, खेलमैदान निर्माण र पर्यटन पूर्वाधार विकासजस्ता क्षेत्रमा कार्यान्वयन भई ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ। उपभोक्ता समितिमार्फत ४ करोड रुपैयाँ बराबरका योजना सम्झौताअनुसार कार्यान्वयनमा रहेको समेत उल्लेख गर्नुभयो।
कृषि क्षेत्रमा ३२४ रोपनी बाझो जग्गामा खेती विस्तार गरिएको छ भने १२५ रोपनीमा सुन्तला खेती विस्तार गरिएको छ। कृषकलाई प्रविधि हस्तान्तरणका लागि आवश्यक सूचना संकलन सम्पन्न भएको जनाइएको छ। पशुपालनतर्फ हल गोरु पाल्ने २८२ जना कृषकलाई दाना र गोरु खरिदमा अनुदान प्रदान गरिएको र १९४ वटावंगुरका बच्चा वितरण गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, महिला विकास, सहकारी, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम र लघु उद्यम विकास कार्यक्रम लगायत विभिन्न क्षेत्रका प्रगति विवरण पनि सार्वजनिक गरेको थियो।
सुनुवाइ कार्यक्रममा नागरिकहरूले विभिन्न गुनासा र सुझावहरू प्रस्तुत गरेका थिए। जसमा सबै वडामा योजनाको समानुपातिक वितरण, लिफ्टिङ खानेपानीको नियमितता, ‘ग’ वर्ग अपांगता भत्ता नपाएको, भैरवस्थान डेरी बन्द हुनुको कारण, सामुदायिक विद्यालयमा अंग्रेजी र कम्प्युटर शिक्षा अनिवार्य गर्नुपर्ने, हार्थोक–छहरा सडक स्तरोन्नति, भैरवस्थान पार्किङ शुल्क महँगो, अनुदान वितरणमा नेता प्रधान पहुँच भएको आरोप जस्ता विषयहरू उठाइएको थियो।
गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले विधि, प्रक्रिया र समन्वयमा आधारित भएर गाउँ समृद्धिका लागि काम भइरहेको बताउँदै गलत कार्यको छुट कसैलाई नदिइने स्पष्ट पार्नुभयो। “राम्रो सोचमा आधारित कुनै काममा त्रुटि देखिएमा सिधा सूचना दिनुहोस्”, उहाँले आग्रह गर्नुभयो।
उपाध्यक्ष कान्ता अधिकारीले योजनाको गुणस्तर सुनिश्चित गरेपछि मात्र भुक्तानी दिने अभ्यास कायम रहेको जानकारी दिँदै नागरिकका सुझावलाई आत्मसात गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सञ्चार मञ्च पाल्पाका सदस्य भुवन रायमाझीले नागरिक तथा बाह्यगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका महासचिव कमल अधिकारीले गर्नुभएको थियो। नागरिकका जिज्ञासाहरूमा गाउँपालिकाका सम्बन्धित शाखा प्रमुखहरूले जवाफ दिएका थिए।