गुल्मी, फागुन २१ — इस्मा गाउँपालिकाको आयोजनामा दुई दिने ‘मानव मूल्य शिक्षा’ सम्बन्धी परिचात्मक कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा शिक्षा, शान्ति, प्रेम, नैतिकता र अहिंसाजस्ता पाँच मूलभूत जीवनमूल्यमाथि गहिरो छलफल गरिएको थियो।
कार्यशालामा विद्यार्थी, शिक्षक, अभिभावक र समुदायलाई नैतिक शिक्षाको महत्त्वबारे जागरुक गराउँदै, शिक्षा र संस्कारबीचको सम्बन्धमा जोड दिइएको थियो। श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालका कार्यवाहक निर्देशक डा. सुधाकर पन्त, श्री सत्य साई ग्लोबल काउन्सिल अञ्चल ४ का अध्यक्ष अमर बहादुर कार्की र श्री सत्य साई सेवा संगठन नेपालकी पूर्व अध्यक्ष श्रीधरा बास्कोटालगायतका वक्ताहरूले पारिवारिक अनुशासन, सामाजिक जिम्मेवारी र सकारात्मक सोचका विषयमा महत्वपूर्ण विचार व्यक्त गरे।
इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले यस्ता कार्यक्रमहरूले विद्यार्थीको चारित्रिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै, अभिभावकहरूलाई आफ्ना सन्तानको शिक्षामा सक्रिय भूमिका खेल्न आग्रह गरे। उपाध्यक्ष पार्वती कुँवरले विद्यालयमा नैतिक शिक्षाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै, सिकाइलाई व्यवहारमा उतार्न सके मात्र समाजमा परिवर्तन सम्भव हुने बताइन्।

कार्यक्रममा इस्मा गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार, विद्यार्थीहरूको आत्मविकास र नैतिक सशक्तीकरणका लागि यस्ता कार्यशालाहरू दीर्घकालीन रूपमा फलदायी हुनेछन्।