भाद्र ३१, शुद्धोधन, रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरस्थित फर्साटिकर माध्यमिक विद्यालयमा निर्माण गरिएको सिभिल इन्जिनियरिङ भवनको उद्घाटन एक औपचारिक समारोहबीच सोमबार सम्पन्न भएको छ। उक्त भवनको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नुभएको हो।
उद्घाटन समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले विद्यालयलाई नमुना बनाउने दिशामा आवश्यक पर्ने पूर्वाधारका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विद्यालयलाई आवश्यक थप भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी मन्त्रालयमा प्रस्ताव पठाउन आग्रह गर्दै आवश्यक बजेट विनियोजन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
सामाजिक विकास र जनताको समस्या समाधानका लागि पार्टीहरूबीच सहकार्य आवश्यक भएको उल्लेख गर्दै मन्त्री पौडेलले विकासका काममा राजनीतिक दलहरूबीच एकता हुनु अपरिहार्य रहेको धारणा राख्नुभयो। वर्तमान गठबन्धन सरकार गठनको सन्दर्भमा बोल्दै उहाँले जनताका अपेक्षा पूरा गर्न एमाले–कांग्रेसबीच सहकार्य भएको र यो समीकरण आगामी २०८४ सालको निर्वाचनसम्म कायम रहने विश्वास व्यक्त गर्नुभयो।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले फर्साटिकर माविले दक्ष जनशक्ति उत्पादनमा गरेको योगदानको चर्चा गर्दै भौतिक पूर्वाधार निर्माणमा अर्थमन्त्री पौडेलले देखाएको चासोप्रति आभार व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर घर्तीले विगतमा विद्यालयको विकासमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयलाई थप नमुना बनाउने लक्ष्यमा सरकार, प्रदेश सांसद तथा पालिकाको निरन्तर सहयोग आवश्यक रहेको आग्रह गर्नुभयो।
समारोहमा पूर्व राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेश सांसद तुलसीप्रसाद चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत शुद्धोधन गाउँपालिका प्रवक्ता तथा वडा नं. ४ का सामाजिक विकास समितिका संयोजक केशवप्रसाद अधिकारीले गर्नुभएको थियो भने सञ्चालन विद्यालयका शिक्षक लिलाधर न्यौपानेले गर्नुभएको थियो।