खोजि गर्नुहोस..

बाणगंगामा नौ किसानलाई च्यापकटर वितरण

बाणगंगा, ०६ जेठ ।  कपिलवस्तुको बाणगंगा नगरपालिकाले पशुपालन व्यवसायमा संलग्न किसानलाई च्यापकटर (घाँस तथा पराल काट्ने मेसिन) वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटअन्तर्गत ५० प्रतिशत अनुदानमा नौ जना किसानलाई उक्त उपकरण प्रदान गरिएको हो। 

पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीका अनुसार सार्वजनिक सूचना मार्फत आवेदन माग्दा १९ वटा आवेदन प्राप्त भएका थिए। तीमध्ये मापदण्ड पूरा गर्ने नौ वटा कृषि फर्महरू छनोट भई च्यापकटर पाएका हुन्।

मेसिन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले नगरलाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउन यान्त्रिकीकरणमा जोड दिइएको बताउनुभयो। उहाँका अनुसार आधुनिक कृषि प्रणालीलाई प्रोत्साहन गर्न किसानहरूलाई आवश्यक उपकरण र प्राविधिक सहयोग प्रदान गरिँदै आएको छ।

“बाणगंगामा धेरै किसान संलग्न भएकाले विगतदेखि नै यान्त्रिकीकरण, विउविजनमा अनुदान र प्राविधिक सहायता दिँदै आएका छौं,” नगरप्रमुख अर्यालले भन्नुभयो। उहाँले आगामी वर्षहरूमा किसानको आवश्यकता अनुसार नीति तथा कार्यक्रम बनाइने स्पष्ट पार्नुभयो।

उहाँले अनुदानमा प्रदान गरिएका उपकरणहरूले किसानको काम सजिलो बनाउने र उत्पादनमा वृद्धि गराउने विश्वास व्यक्त गर्नुभयो। यान्त्रिकीकरणले लागत घटाएर प्रत्यक्ष लाभ दिने भएकाले किसानको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गर्नुभयो।

अनुदानमा च्यापकटर पाएका किसानहरूले पनि यस्ता कार्यक्रमले उनीहरूको उत्पादन बढाउने र दैनिकी सहज बनाउने प्रतिक्रिया दिएका छन्।

नगरपालिकाले हरेक आर्थिक वर्षमा पशु सेवा शाखाका लागि रु. ८० लाखदेखि १ करोड २० लाखसम्म बजेट छुट्याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *