लुम्बिनी। विगत १० वर्षदेखि निरन्तर कामगर्दै आएका रूपन्देही जिल्लाका सडक मजदूरहरूले आफ्नो कामको निरन्तरताको मागगर्दै लुम्बिनी प्रदेशका भौतिक पूर्बाधार विकास मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
रूपन्देही जिल्लाभरिका मुख्य सडकमा खाल्डाखुल्डी पूर्ने र सडकपेटीका झारपात सरसफाइको कामगर्दै आएका मजदूरहरूले भौतिक पूर्बाधार विकास मन्त्री भूमिश्वर ढकाल समक्ष ज्ञापनपत्र बुझाएका हुन्।

मजदूरहरूको टोलीले दाङस्थित मन्त्रालय पुगेर न्यून पारिश्रमिकमा पनि निष्ठापूर्वक कामगर्दै आएको तर पछिल्लो समय कार्यले निरन्तरता नपाउँदा जिविकोपार्जन समेतमा गम्भीर समस्या आएको गुनासो गरे।
“हामीले गर्मी, जाडो, वर्षा नभनी सडक सुधारको कामगर्दै आएका छौं। तर हालमा बजेट अभाव देखाउदै लुम्बिनी प्रदेश सरकारबाट कामको अवधी अनिश्चित हुँदा काम नपाएर घरखर्च चलाउनै मुस्किल भइरहेको छ,” मजदूर प्रतिनिधी लालदेव धोबीले भने, “अब बाह्रै महिना हाम्रो कामको स्थायीत्व सुनिश्चित हुनुपर्छ।”

वर्षको १० महिना काम गर्दै आएका सडक मजदूरहरू, यो वर्ष मात्र वैशाख महिनासम्म काम गर्न पाउने भन्दै भैरहवा स्थित भौतिक पूर्बाधार विकास कार्याल मार्फत माैखिक जानकारी पाएपछि चिन्तित छन ।
सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्बाधार विकास मन्त्री भूमिश्वर ढकालले रूपन्देहीका सडक मजदूरहरूको मागप्रति सहानुभूति प्रकटगर्दै त्यसको समाधान चाँडै खोजिने आश्वासन दिए। “हामी मजदूरहरूको योगदानप्रति कृतज्ञ छौं। यस्ता मागहरूलाई हामी गम्भीरतापूर्वक लिन्छौं,” मन्त्रीले भने।
दाङ पुगेका सडक मजदूरहरू मुख्यमंत्री चेत नारायण आचार्य, पूर्ब मुख्यमंत्री डिल्ली चॏधरी समेतलाइ भेटेर आफ्ना समस्या राखेका थिए । सडक मजदूरहरूसँग लुम्बिनी प्रदेशका पूर्ब मंत्रीद्वय वसीउद्दीन खाँ, चन्द्रकेश गुप्ता र रूपन्देही ४ ʼकʼ बाट निर्बाचित प्रदेश सभा सदस्य कन्हैया बनिया समेत रहेका थिए ।
सडक मजदूरहरूको कामको निरन्तरता टूटदा प्रदेशस्तरीय योजनाले स्थानीय श्रमिकहरूको भूमिकाको सम्मान र सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ, समन्वयको भूमिकामा देखिएका मर्चवार लिफ्ट सिंचाइका सचिव जगन्नाथ प्रसाद कुर्मीले भने, “हेर्न बाँकी छ, मजदूरको माग कति चाँडो सम्बोधन हुन्छ।”