गैडहवा, पुस ३ । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित प्रतियोगिता मंगलबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले शिक्षा प्रणालीलाई परीक्षामुखी मात्र नभई डररहित, रचनात्मक र अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिए। उनले विद्यालयहरूमा बालमैत्री कक्षा कोठा, स्वच्छ खानेपानी, डिजिटल सामग्री, खेलमैदान, पुस्तकालय र प्रयोगशालाजस्ता पूर्वाधार विकासमा पालिका प्रतिबद्ध रहेको बताए।
पौडेलले खेलकुदमा अनुशासनलाई प्रमुख गहना ठहर गर्दै खेलाडी र रेफ्रीहरूलाई योग्यता आधारित मूल्याङ्कन गर्न आग्रह गरे। उनले राजनीति भन्दा माथि उठेर पालिकाले समावेशी विकासलाई प्राथमिकता दिएको स्पष्ट पारे।
विशिष्ट अतिथि तथा पूर्व अध्यक्ष बच्चुलाल केवटले प्रतियोगितामार्फत विद्यार्थीमा खेल सीप र आत्मविश्वास विकास हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, वडाध्यक्ष, विद्यालय प्रमुख र स्थानीय बुद्धिजीवीहरूले शुभकामना मन्तव्य दिएका थिए। सहभागी वक्ताहरूले गाउँपालिकाले शिक्षा र खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सराहना गरे।
प्रतियोगिता संयोजक बिजकुमार चाइले सम्पूर्ण अतिथि र सहभागीलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।
गैडहवा गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २२ सामुदायिक, १५ निजी र ८ मदरसा गरी ४५ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले मार्च पाससहित नृत्य प्रस्तुति पनि गरेका थिए।
कार्यक्रम सञ्चालन जनकल्याण माध्यमिक विद्यालयका प्राचार्य सञ्जय यादवले गरेका थिए।