भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रूपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खानले देशको मुहार फेर्न र पुराना बेथिति अन्त्य गर्न ‘घण्टी’ चिह्नमा मतदान गर्न आग्रह गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रममा मतदाताहरूसँग कुराकानी गर्दै उम्मेदवार खानले अहिलेको विकल्प परम्परागत शक्तिहरू नभएर रास्वपा नै भएको दाबी गरे।
उनले मतदाताहरूलाई सम्बोधन गर्दै भने, “दशकौँदेखि एउटै अनुहार र उही आश्वासनबाट वाक्क भएका जनता अब डराउनु पर्दैन। तपाईंको एक मतले तपाईंका सन्तानको भविष्य र देशको अवस्था बदल्न सक्छ। त्यसैले आफूले आफैँलाई चिन्नुस् र देशका लागि घण्टीमा मतदान गर्नुस्।” उनले आफू मात्र सचेत भएर नपुग्ने भन्दै आफ्ना इष्टमित्र, छिमेकी र युवाहरूलाई पनि परिवर्तनको संवाहक बन्न र घण्टी चिह्नमा मतदान गर्न प्रेरित गर्न आग्रह गरे।
भगवान बुद्धको जन्मस्थल रहेको रूपन्देही –५, लुम्बिनी क्षेत्रको विकासका लागि उनले सरकारी विद्यालयको गुणस्तर सुधार र स्थानीयस्तरमै सुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए। उनले सरकारी ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गरी ‘डेलिभरी’ मा आधारित राजनीति गर्ने बताए। खाडी मुलुक पलायन हुने युवाहरूलाई स्वदेशमै कृषि क्रान्ति तथा पर्यटन मार्फत अवसर सिर्जना गर्ने योजना रास्वपासँग मात्र भएको उनको दाबी थियो।
“म गफ गर्न होइन, काम गर्न आएको हुँ। रूपन्देही-५ ले यसपटक नयाँ सोच र नयाँ ऊर्जालाई जिताउनेछ भन्नेमा म विश्वस्त छु,” खानले भने। पुराना दलहरूले रास्वपाको बढ्दो लोकप्रियताबाट डराएर विभिन्न भ्रम फैलाउन खोजेको आरोप लगाउँदै खानले मतदाताहरूलाई सचेत रहन आग्रह गरे। उनले थपे, “अहिले सबै पुराना शक्तिहरू नयाँ आशाका विरुद्ध एकजुट भएका छन्। तर जनताको शक्तिका अगाडि कसैको षड्यन्त्र टिक्नेवाला छैन।”