ताैलिहवा । कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका आशिष शर्मा सहित १९ जनालाई पार्टीबाट पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ।
जिल्ला अनुशासन समितिको फागुन ३ गते बसेको बैठकको सिफारिसका आधारमा जिल्ला कार्य समितिले उनीहरूलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गर्ने निर्णय गरेको हो। उक्त निर्णयलाई अनुमोदनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समिति र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाइने जनाइएको छ।
कारबाही सिफारिसमा परेकामध्ये पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दीप कुमार उपाध्याय, महासमिति सदस्यहरू राजेश बहादुर सिंह, कमल टण्डन, बिष्णु न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरू हरिराज घिमिरे र कमलराज आचार्य रहेका छन्।
त्यस्तै, क्षेत्र नं. १ (क) का प्रदेश सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, प्रदेश सदस्य बिनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिका सभापति शैलेन्द्रधर द्विवेदी, बाणगंगा नगरपालिका–६ का बुथ इकाइ सभापति अनिल पाण्डे, क्षेत्रीय प्रतिनिधिहरू सरजु प्रसाद चौधरी, तिलकराम पाण्डे, परमेश्वर पाठक (सिडियो भनेर चिनिने), चर्तुभुजीमणि त्रिपाठी र मिथिला शर्मा पनि कारबाही सिफारिसमा परेका छन्।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको तथा अन्य उम्मेदवारलाई समर्थन गरेको प्रमाणका आधारमा पार्टी विधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम कारबाही सिफारिस गरिएको जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिए।
जिल्ला कार्य समितिको निर्णय अनुसार अब प्रदेश र केन्द्रीय अनुशासन समितिको अन्तिम निर्णयपछि कारबाही कार्यान्वयन हुने जनाइएको छ।