लुम्बिनी। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ पाण्डे डिहस्थित दानव खोला किनारमा जलेको अवस्थामा फेला परेकी २५ वर्षीया सिर्जना पालको मृत्यु रहस्यमय बन्दै गएको छ। प्रहरी अनुसन्धान जारी छ, तर मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन।
शनबिार राती पौने दुई बजे फेला परेको २४ वर्षिय सिर्जनाको शव पोष्टमार्टमपछि दाह–संस्कारकृया सम्पन्न भएको छ। उहाँ पाण्डे डिह बस्ने प्रमोद पालका श्रीमती हुन। उनको शव भेटिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ।
रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक प्रदीप क्षेत्रीले पोष्टमार्टम लगायत आवश्यक प्रक्रिया पूरा गरी शवलाई अन्तिम संस्कारकालागी परिवारको जिम्मा लगाइएको बताइ। उनले भने, “मृतकको माइतीपक्ष समेतलाइ बोलाइ अनुशन्धान शुरू गरिएको छ।”
प्रहरी उपरिक्षक क्षेत्रीका अनुसार, “घटनाको प्रारम्भिक अनुसन्धानमा प्रयोग गरिएको “ओम” नामको तालिम प्राप्त कुकुरले प्रहरी टोलीलाई घटनास्थलदेखि मृतकको घरसम्म पुर्याएको थियो। यसबाट मृतक आफ्नो घरबाटै घटना स्थलसम्म पुगेको हुनसक्ने आशंका छ।
हत्या कि आत्महत्या ?
“घटनाको स्वरूप र प्रकृतिबारे अझै पूर्ण यकिन हुन नसकेकोले, हत्या हो कि आत्महत्या ? भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन,” प्रहरी उपरिक्षक क्षेत्रीले भने । पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले घटनाको वास्तविकता अझै अज्ञात रहेको उनले बताए ।
’राति पौने दुइ बजे करिब केही स्थानीय व्यक्ति दानव खोला छेउमा बसिरहेका थिए। त्यही बेला खोला किनारमा एक्कासि आगोको मुस्लोसँगै महिलाको चिच्याहट सुनियो’, सोही वडा नं.५ का वडाध्यक्ष श्रवणकुमार यादवले भने, “पहिले त कसैले ठट्टा गरेजस्तो लाग्यो, मानिस नै जलिरहेको विश्वास भएन, तर पछि, मुस्लो र चिच्चयाहट हराउन थालेपछि, सत्य घटनाको शंका लागेर त्यहाँ पुग्दापुग्दै उनको जलेको शव देखियो।”
तिलोत्तमा–१७ ठठरिहवा माइत भएकी सिर्जना पालको बिबाह एक वर्षअघि सम्मरीमाइ–५ पाण्डेय डिहका प्रमोद पालसँग भएको थियो । श्रीमान, सासू–ससुरा र मृतक सिर्जना सहित चार जनाको परिवार सगोलमाबस्दै आएका थिए। उनको घरमा आफ्नै किराना छ, जुन श्रीमानले चलाउथे।
उनको परिवारमा कहिले कुनै किसिमको झै–झगडाको चर्चा गाउँमा छैन । न त गालीगलौज वा कुटपिटबारे कहिल्यै कसैले सुनेको बताए । घटनापछि सिङ्गो गाउँ स्तब्ध छ। उनको मृत्यु, हत्या हो वा आत्महत्या ? भन्ने अनुसन्धान निकाय र स्थानीय समेतमा अन्योलता छ। प्रहरीले सिर्जनका पतिलाइ नियन्त्रणमा लिएर अनुशन्धान शुरू गरेपनि घटनाको निष्पक्ष छानबिन तथा अनुसन्धानगरी सत्यतथ्य बाहिर ल्याइनुपर्ने आफन्त र स्थानीयवासीको माग छ ।