खोजि गर्नुहोस..

पाल्पाको रिमिघामा यार्सागुम्बा फेला परेको पुष्टि

पाल्पा ।  पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३ स्थित रिमिघा लेक क्षेत्रमा यार्सागुम्बा फेला परेको पुष्टि भएको छ। केही दिनअघि स्थानीयवासीहरूले सुन्तला रोप्न खन्दा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटीको परीक्षणपछि त्यसै हो भन्ने प्रमाणित भएको हो।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार ललितपुरमा गरिएको परीक्षणबाट सो वनस्पति यार्सागुम्बा नै भएको स्पष्ट भएको हो। भट्टराईले भने, “हिमाली जिल्लामा यार्सागुम्बा पाउने सामान्य भए पनि पाल्पा जस्तो पहाडी जिल्लामा भेटिएको जानकारी मेरो लागि पहिलो हो।”

सरकारी प्रावधान अनुसार यार्सागुम्बाको व्यापार नेपाल सरकारले मात्रै गर्न पाउनेछ। सूचीकृत व्यवसायीलाई प्रतिकिलो ३१ हजार रुपैयाँमा बिक्रीको अनुमति दिने व्यवस्था रहेको डिभिजन वन कार्यालयले जनाएको छ। यार्सागुम्बा संकलन र बिक्री प्रक्रियाका लागि केही समय लाग्ने वन अधिकारी भट्टराईको भनाइ छ।

हाल यार्सागुम्बा फेला परेको क्षेत्रमा सर्वसाधारणको आवतजावत रोकिएको छ। सुरक्षा व्यवस्था कडा पार्दै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। त्यस्तै, रम्भा गाउँपालिका–२ को वन क्षेत्रमा पनि यार्सागुम्बा जस्तो जडीबुटी फेला परेको छ।

समुद्र सतहदेखि १,७९४ मिटरको उचाइमा अवस्थित रिमिघा लेक घना जंगलले घेरिएको क्षेत्र हो, जहाँ प्रसिद्ध रम्भादेवी मन्दिर पनि अवस्थित छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *