खोजि गर्नुहोस..

लुम्बिनीको शान्तिमा फैलिँदै गएको असुरक्षा

लुम्बिनी विश्व शान्तिको मुहान हो। यो शान्ति, करुणा र अहिंसाका अमर सन्देशवाहक महामानव गौतम बुद्धको जन्मस्थल हो। धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीक यो क्षेत्र आज अराजकताको भूमरीमा फस्दै गएको छ। यहाँ हत्या, आतंक, लुटपाट र चाैपाया तश्करी सामान्य जस्तै छ।

लुम्बिनीमा प्रहरीको निष्कृयता र अपराध खुलेआम छ। २०८२ जेठ २५ गते राती लुम्बिनी  सांस्कृतिक नगरपालिका–७ भगतपुरवा नजिकैबाट भइरहेको गाइ तश्करी रोक्न खोज्दा तश्कर समूहको अक्रामक प्रहारबाट गेनवरियाका २४ वर्षीय लिखन्दर यादव सख्त घाइतेभइ अस्पताल पुगेका छन।

२०८२ जेठ १० गते, मध्यराती लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा विष्णु महायज्ञ चलीरहँदा पेस्तोलसहित आतंक मचाउदै गरेका दुईजना युवक पक्राउपर्नु समाचारको शीर्षक मात्र होइन, शान्तिको प्रतीकस्थल लुम्बिनीमा फैलिँदै गएको असुरक्षा,आतंक र अराजकताको संकेत पनि हो।

लुम्बिनी–११ मोगलहा स्थित आफ्नै घरमा सुतीरहेकी एक महिलामाथी २०८१ कातिक ८ गते मध्यराती चाकू प्रहारगरी गरगहना लुटियो। गुहार पुगेपछि लुटेराहरू भाग्न सफल भए भने घटनास्थलबाट बरामद चाकु, शँटगनको गोली र लु. ३९ प. ६१५६ नं. मो.सा.को छानबिन भएन, घटना प्रलोभनमै मिलाइयो।

लुम्बिनी क्षेत्रमा यस्ता घटना पहिलो पटक मात्र भएका होइनन्। २०७९ असार १९ गते लुम्बिनी बसपार्क नजिकै पर्सा–तॏलिहवा सडकखण्डमा तीनजना भारतीय हतियारधारी समूह पक्राउ परेका थिए। उनीहरूबाट पेस्तोल, ‘केएफ ९ एमएम’ लेखिएको दुई थान गोली र एक थान चक्कु बरामद भएको थियो।

यतिमात्र होइन, स्व.पत्रकार बिन्दु चाैहानले लुम्बिनीमा गोरू तश्करीको समाचार लेखेकै कारण २०७५ चैत्र १९ गते राती गोरू तश्करको समूहले उनको सुस्त मनःस्थिति भएकी १८ वर्षीय छोरी ममता चॏहानलाइ अपहरण गर्नसम्म भ्याए। हिँड्न र बोल्न समेत नसक्ने उनको नाबालिग छोरीलाइ हात खुट्टा बाँधेर छाडिएको अवस्थामा २० गते लुम्बिनी नगरपालिका–११ स्थित उनकै गहुँखेतमा १० घण्टापछि मात्र भेटिएकी थिइन।

२०७४ पुष १५ गते श्रीलंकाका राष्ट्रपतिको भ्रमणलाई उच्च प्राथमिकतामा राखेर सरकारले चार तहको सुरक्षा प्रबन्ध मिलाएको थियो। सवारी तथा सुरक्षा चेकजाँचको क्रममा अघिल्लो साँझ लोखडिया चौंकबाट दुइजना हतियारधारी पक्राउ परे। एउटै मोटरसाइकल चढेका चारमध्ये दुइ जना अझै फरार छन।

त्यसअघि मोगलहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीले बोकेको १० लाख ९० हजार रुपैया पर्सा प्रहरी बिट नजिकैबाट लुटिएको घटना सामान्य मानिदैन। दुइजनाको हतियारधारी समूहले प्रहरीको नाकैमुनी पेस्तोल तेर्साउदै दिनदहाडै लुटेर फरारहुनु सामान्य सुरक्षा चुनॏतीको विषय पक्कै थिएन।

शंकास्पद व्यक्तिहरूको बारम्बार उपस्थितिले लुम्बिनीमा शान्तिको सन्देशभन्दा गोली, बारुद र आतंकको गन्ध पसारिएको छ। यहाँ बाह्यभन्दा लुम्बिनी बिकास कोषको सम्बेदनशील भित्रीक्षेत्र पनि भिन्न छैन।

२०७८ पुष ६ गते बेलुका साढे ५ बजे मायादेबी मन्दिर नजिकै दक्षिणी कुनातर्फको झाडीमा करिब २० वर्षीय एक युवतीको शव फेला परेको थियो। २०७६ माघ २७ गते सोही नजिकै ५० वर्षको जस्तो देखिने एक महिलाको शव कुहिएको अवस्थामा स्थानीय बाख्रा गोठालाले फेलापारी प्रहरीलाइ खबर गरेका थिए।

लागुऔषध, पशु–चॏपाया र हातहतियार तस्करी यहाँ दैनिकजसो भइरहेको तथ्य संचारमाध्ययम मार्फत सर्वविदितै छ। शान्तिको प्रतीकस्थल लुम्बिनीमा हतियारधारी व्यक्तिहरूको उपस्थित, तश्करको बिगबिगी र हत्याका घटना यहाँ सामान्य जस्तै देखिन थालेका छन । यो गहिरिँदो सुरक्षा संकटको चेतावनी पनि हो।

प्रहरी प्रशासनले दोषीहरूका विषयमा अनुसन्धान भइरहेको बताउनु सकारात्मक कुरा हो। तर प्रश्न उठ्छ, शान्तिको क्षेत्र मानिएको लुम्बिनीमा हतियारधारीहरू किन बारम्बार फेला पर्छन?, शवहरू किन भेटिन्छन?, यी घटनाहरूले विधिको शासन, लोकतन्त्र, र नागरिकको न्याय प्राप्तिमा गम्भीर आघात पुर्‍याउँदैछ।

अपराधलाई राजनीतिक चस्माबाट हेर्नु, अपराधीलाई संरक्षण गर्नु र राजनीतिक स्वार्थका लागि हस्तक्षेप गर्नु, लुम्बिनीमा दण्डहीनता संस्कृतिको मुख्य कारक हो। यसको अन्त्य अब अपरिहार्य छ। यसैक्रममा स्थानीय पत्रकार दिपक कलवारमाथी राजनैतिक दबाबमा इ. प्र. का.लुम्बिनीले मुद्दा दर्ता गरेको छ।

सामान्य घरायसी झगडामा दिपकका दाजु बिपक्षीको कुटाइबाट घाइते भएका थिए। घटनालाइ निस्तेज पार्न त्यहाँ उपस्थितीनै नरहेको थाहा हुँदा हुदैपनि दिपकमाथी राजनीतिक दबावमा मुद्दा दर्ता गरिएको सत्य स्वयं इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्र.नि. दिपक मगराठीको काँल रेकर्डबाट प्रष्ट सुनिन्छ।

अझ् चिन्ताको विषय त के छ भने, यस्ता अपराधजन्य गतिविधिको ढाकछोपमा स्थानीय प्रहरी प्रशासन बारम्बर जोडिएको देखिन्छ। तथ्य लेख्ने पत्रकारमाथि दुर्व्यवहारगर्ने, झूठा मुद्दा लगाउने, हिरासतमा राख्ने र धम्कीदिने लगायतका घटनाक्रमले स्वयं प्रहरी संयन्त्र अपराधिक गिरोहको संरक्षणतर्फ उन्मुख रहेको पुष्टि गर्छ।

यहाँ सिमाक्षेत्रका बासिन्दालाई मल र बीउको अभाव, स्वास्थ्य सेवामा पहुँचको अभाव र पूर्वाधारविहीन अवस्था आदि अपराध र तस्करीलाई प्रश्रय दिने प्रमुख कारक हुन्। प्रहरी प्रशासन यदि नियमनकर्ता होइन, तस्कर तथा अपराधीको साझेदार देखिन्छ भने कानुनी शासनमा जनताको विश्वास गुम्नु स्वाभाविक छ।

महामानव गॏतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अध्यात्मिक, धार्मिक तथा पर्यटनका दृष्टिले मात्र होइन, सामाजिक न्याय, शान्ति र सुरक्षाको आदर्श थलोका रूपमा विकास गर्नु आजको आवश्यकता हो। यस क्षेत्रलाई अपराध र हिंसाबाट मुक्तराख्नु प्रशासनिक दायित्व मात्र होइन, हामी सबैको राष्ट्रिय जिम्मेवारी पनि हो।

त्यसैले, राज्य संयन्त्र, सुरक्षाका अंग, राजनीतिक दल, नागरिक समाज र मिडिया लगायत सबैजना एकजुट भई लुम्बिनीलाई दण्डहीनता, तस्करी र अराजकताको दलदलबाट उकास्न निर्णायक कदम चालाैं। यहाँ बुद्ध केवल मूर्तिमा सीमित रहनु हुँदैन, उहाँका विचार र दर्शन समेतलाइ व्यवहारमा जीवित राख्न पर्दछ।

लुम्बिनी, भगवान बुद्धको पवित्र भूमि—विश्वभर शान्तिको सन्देश फैलाउने आदर्शस्थल हो, जहाँ अपराध र अपराधी खेल्न पाउनु हुँदैन । शक्ति केन्द्रित हुदै गएको लुम्बिनीलाइ अब न्याय केन्द्रित बनाउन भय न मानॏ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *