तौलिहवा । कपिलवस्तु नगरपालिकामा आठौं नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले ब्याटिङ गर्दै गर्नुभएको थियो।

स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धन, युवा प्रतिभाहरूको पहिचान, र खेलकुदको माध्यमबाट स्वास्थ्य र सामाजिक एकता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सुरू भएको हो।

कार्यक्रममा बोल्दै सांसद आचार्यले बुद्धपद्म माविको ऐतिहासिक खेल मैदानको स्तरोन्नतिका लागि १ करोड रुपैयाँको बजेट विनियोजन भई काम सुरु भइसकेको जानकारी दिनुभयो। साथै, आगामी आर्थिक वर्षका लागि ३ करोड रुपैयाँ थप बजेट प्रस्ताव गरिएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई स्मरण गर्दै, आचार्यले खेलाडीहरूलाई अनुशासन र समर्पणका साथ आफ्नो प्रतिभा उजागर गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्रदेश सभा सदस्य सुधाकर पाण्डेले खेल मैदान निर्माणका लागि केन्द्र सरकारबाट प्राप्त १ करोड रुपैयाँ बजेटको सफल व्यवस्थापनमा सांसद आचार्यलाई धन्यवाद दिंदै, आफू पनि खेल पूर्वाधारको विकासमा निरन्तर लागिरहने र आवश्यक परे प्रदेशबाट पनि बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले यस्ता प्रतियोगिताले युवाहरूमा नेतृत्व क्षमता, आत्मबल, लगनशीलता र सामाजिक सद्भावको विकासमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो।

नगर प्रमुख सुदिप पौडेलले नेपालमा पछिल्लो समय क्रिकेटको बढ्दो लोकप्रियता र यसको व्यवसायिक सम्भावनाको चर्चा गर्दै, मेयर कपले स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्न प्रेरणा दिने बताउनुभयो। उहाँले एनपीएलमा देखिएको दर्शक सहभागितालाई उदाहरण दिँदै क्रिकेटलाई अब गम्भीर खेल र सम्भावनायुक्त करियरको रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

यसै क्रममा स्वागत मन्तव्य राख्दै कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले मेयर कपले खेलाडी उत्पादन र व्यावसायिक विकासमा ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो।

प्रतियोगितामा १२ टोलीबीच नकआउट प्रणालीअनुसार खेल हुनेछ। विजेता टिमले रु. ६०,०००, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टिमले रु. ३०,०००, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने म्यान अफ द सिरिजले रु. ५,०००, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले ३,०००–३,००० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
उद्दघाटन कार्यक्रमको संचालन नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज भुसालले गर्नुभएको थियो ।