ताैलिहवा । शुक्रबार आएको एक्कासि शक्तिशाली हावाहुरीले कपिलवस्तु जिल्लाको विद्युत संरचनामा ठूलो क्षति पुर्याएको छ। यसका कारण जिल्लाका धेरै क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
तौलिहवा, गोरुसिंगे र कृष्णनगर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा ठूलो संख्यामा विद्युत पोलहरू ढलेका छन्। तौलिहवा वितरण केन्द्रका प्रमुख गौरव पाण्डेका अनुसार ५० भन्दा बढी पोल ढलेका छन् भने धेरै स्थानमा
तार, इनसुलेटर लगायतका उपकरणहरूमा समेत क्षति पुगेको छ। “मर्मत कार्य तीव्र रूपमा भइरहेको छ, तर सम्पूर्ण सेवा पुनः सञ्चालन गर्न करिब पाँच दिन लाग्ने देखिन्छ,” पाण्डेले जानकारी दिनुभयो।
विद्युत प्राधिकरणका अनुसार मुख्य समस्या ११ केभी र एलटी लाइनमा देखिएको हो। ३३ केभी लाइन भने सामान्य अवस्थामा रहेको छ। हाल प्राविधिक टोलीहरू विभिन्न प्रभावित स्थानहरूमा खटिएका छन् र मर्मत कार्यमा जुटिरहेका छन्।
गोरुसिंगे क्षेत्रमा पत्थरकोट जंगल आसपास पनि पोलहरू ढलेका छन्। तौलिहवा बजार, घनचौरा, जीतपुर–४, र गोरुसिंगे जस्ता स्थानहरूमा आंशिक रूपमा सेवा सुचारु गरिएको छ।
कृष्णनगर वितरण केन्द्रमा पनि करिब १२ पोल ढलेको पुष्टि भएको छ। तर तुलनात्मक रूपमा त्यहाँ क्षति कम भएको र हाल अधिकांश क्षेत्रमा लाइन पुनः सञ्चालन भइसकेको केन्द्र प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो।
स्थानीयवासीहरूले लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवनमा कठिनाइ भइरहेको गुनासो गरेका छन्। बिजुली अभावका कारण विशेषगरी सञ्चार, खानेपानी पम्प, र व्यापारीक कामकाजमा समस्या देखिएको छ।
प्राधिकरणले छिटोभन्दा छिटो सेवा पुनः सुचारु गर्न थप प्राविधिक टोली र सामग्री परिचालन गरिरहेको जनाएको छ।