खोजि गर्नुहोस..

भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी

भैरहवा । रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ ।

टस जितेर ब्याटिङ शुरू गरेको प्रोफेसनलले ६ विकेट गुमाएर १ सय ५ रनको बलियो योगफल बनायो । प्रोफेसनलका भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रन बनाए । त्यसैगरी मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित खेलमा जम्मा ४४ रनमात्रै बनाउन सकेको थियो ।

उसलाई सस्तैमा रोक्न प्रोफेसनलका जय प्रताप यादवले २ रन तथा करण केवट, अख्तर हुसेन र सुरज खड्काले समान १–१ विकेट लिन भ्याएका थिए । मायादेवीका नन्दलाल यादवले अविजित २६ रन र निरज मौर्यले १४ रन बनाएका थिए । प्रोफेसनलका जयप्रताप यादव प्लेयर अफ द म्याच बने ।

त्यस्तै, दोस्रो खेलमा टिम रेस्पोन्स लुम्बिनीले मर्निङ क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको टिम रेस्पोन्सले ६ विकेट गुमाएर ८९ रन बनाएको थियो । उसका लागि जावेद खानले ७३ रनको योगदान गरेका थिए । बलिङमा मर्निङ क्रिकेट क्लबका प्रवेज अन्सारीले ३, सिजन मकाजुले २ र आकाश थापाले १ विकेट लिन सफल भएका छन ।

जवाफमा मर्निङ क्रिकेट क्लबले ४ विकेट गुमाउदै ८६ रन मात्रै जोड्न सकेको आयोजकले बताएका छन । उसका लागि अनिल जैसवारले ३० रन र दामोदर शर्माले २० रन बनाएका थिए । बलिङमा टिम रेस्पोन्सका फरहाद खानले २ विकेट लिएका थिए । आयोजकका अनुसारआजको खेलमा टिम रेस्पोन्स लुम्बिनीका जावेद खान प्लेयर अफ द म्याच भएका छन ।

यही असार ९ गतेसम्म संचालन हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी छन् । प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सेमिफाइनल खेल सम्म पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार रूपैया प्रदान गरिने आयोजकले बताएका छन ।

आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एशियन बुद्ध होटल रहेको छ । प्रतियोगिताको शनिबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *