भैरहवा । रुपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ मा आइतबार भएका तीन खेलमा न्यु होराइजन क्रिकेट क्लब, टीम एभेन्जर्स र एशियन बुद्ध विजयी भएका छन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा न्यु होराइजनले लुम्बिनी साझेदारीलाई ७० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले २ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनी साझेदारीले ७ विकेटको क्षतिमा जम्मा ७० रन बनाएर हार व्यहोरेको हो । होराइजनका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भएका हुन ।
त्यस्तै, दोस्रो खेलमा टीम एभेन्जर्सले साई ग्लोबल एकेडेमीलाई ३८ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको टीम एभेन्जर्सले ६ विकेड गुमाएर ७८ रन बनाएको थियो । प्रतिउत्तरमा साई ग्लोबलले ४० रन बनाउँदै अलआउट भएको थियो । टीम एभेन्जर्सका शाहद अर्याल प्लेयर अफ द म्याच भएका छन ।
आजै भएको तेस्रो खेलमा एशियन बुद्धले बुटवल क्रिकेट क्लबलाई २४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको एशियन बुद्धले ६ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । जवाफमा बुटवलले २ विकेट गुमाएर ९१ रनमात्रै बनाउन सकेको थियो । खेलमा एशियन बुद्धका अभिशेष गौतम प्लेयर अफ द म्याच भएका छन ।
प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा संचालित प्रतियोगिता यही असार ९ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद रूपैयाँ १०–१० हजार प्रदान गरिने छ ।
आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एशियन बुद्ध होटल रहेको छ ।