खोजि गर्नुहोस..

नेपाली राजनीतिका प्रमुख ५ हस्तीहरूको समर्पण, संघर्ष र विचलनको कथा

गोविन्द बन्धु अर्याल

प्रजातन्त्रदेखि गणतन्त्रसम्मको लामो राजनीतिक कालखण्डमा नेतृत्व सम्हालेका प्रमुख हस्तीहरूको वैचारिक विचलन, गुटगत स्वार्थ र सत्तामोहले देशलाई गम्भीर संकटमा पारेको छ । अब मुलुकलाई जोगाउन पुराना अहंकार त्याग्दै पुरानाले नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्नु र नयाँ थप जिम्मेवार बन्नु विकल्पहीन आवश्यकता जस्तै बनेको छ ।

शेरबहादुर देउवा

उमेरले चार बिस हिउँद कटिसक्यो । विद्यार्थी कालदेखि नै राजनीतिप्रतिको अथाह लगाव, निरन्तरता र लोकतन्त्रप्रतिको प्रतिबद्धताका कारण धेरै हन्डर र ठक्कर खानुपर्‍यो । त्यसैको प्रतिफलस्वरूप राजनीतिक उचाइको शिखरमा पटकपटक पुगियो । जीवनको उत्तरार्धमा नसोचेका दुर्व्यवहार र कुटाइसमेत भोग्नुपर्‍यो ।

लोकतन्त्रप्रतिको इमानदारी अटुट रहे पनि आफ्नै राजनीतिक गुरुविरुद्ध बेलाकुबेला गुटगत राजनीतिको झुण्डमा लहसिँदा र पत्नीको हुकुम तामेली गर्दा कलश बोकेर पार्टी फुटाल्नेसम्मका काम पनि भए । अन्ततः एकाकार नभई नहुने देखेर रुखकै छाहारीमा फर्कनुपर्‍यो । पछिल्लो घटनाक्रममा सत्तामा नरहे पनि सत्ताको मियो आफ्नै हातमा घुम्यो । कहिले प्रचण्डपथ, कहिले ओलीको बोलीमा लाग्ने काम भयो ।

सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा गगन र विश्वले यो प्रत्युत्पादक हुने र तुरुन्त फुकुवा गर्न आग्रह गर्दा ‘ओलीले मान्दै मान्दैन’ भनेर फर्काउँदाको परिणाम आफ्नै आँखा एवं शरीरले देख्नु र भोग्नुपर्‍यो । राष्ट्र र लोकतन्त्रप्रति संघर्षशील व्यक्तिमाथि गरिएको त्यो अत्यन्तै निकृष्ट अमानवीय व्यवहारप्रति दुःख पनि लाग्छ ।

समय गतिशील र परिवर्तनशील छ । यसका संवाहक युवा हुन् । युवाहरूको विचारलाई निस्तेज गर्न खोज्दा निस्केको सानो झिल्कोले देशै खरानी बन्यो, कलिला युवा र सुरक्षाकर्मीको अनाहकमा ज्यान गयो । धमिलो पानीमा माछा मार्नेहरूले यसैको भर्‍याङ चढेर सत्तामा पुगे । र पनि, आफ्नै गुटगत झुण्डहरूले परिवर्तनलाई पचाएनन्, समयमा अधिवेशन गरेर नेतृत्व सुम्पनु भनेको आफ्नो भाग लुटिने सम्झे । स्वयं पनि परिवार र गुटगत झुण्डहरूको घेरामा रत्तिए । युवा लहरलाई सम्बोधन गर्न ढिला भइसकेकोले पार्टी संगठनमा धमिरा पर्ने देख्दै अब परिवर्तनको विकल्प छैन भन्दै गगन–विश्व लगायतको ठुलो हिस्साले विशेष महाधिवेशनको माग र आयोजना गर्‍यो ।

विशेष महाधिवेशनको अपनत्व ग्रहण गर्न आग्रह गर्दै, देशैभरिबाट पुगेका प्रतिनिधि र शुभेच्छुकले पटकपटक व्यग्र प्रतीक्षा गरिरहे । तर, आफ्ना गुटगत झुण्डहरूले परिवर्तनलाई आत्मसात गर्न रुचाएनन् र प्रजातन्त्रप्रतिको त्यो छवि जोगाउन पत्नी र गुटहरूको घेराभन्दा बाहिर उम्कन जाँगर भएन । फलतः विधानसम्मत बनेको नयाँ नेतृत्वलाई पार्टी निष्काशनको डन्डा घुमाउँदै सानेपा कब्जाको ‘मुते न्यानो’मा रमाउने काम भयो ।

मुलुक निर्वाचनको संघारमा थियो, समय घर्कंदो । निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि विशेष महाधिवेशनलाई वैधानिकता ठहर गरेपछि आफैँ विदेश हुइँकिइयो । यता निम्छरा गुटगत झुण्डहरू अन्तरघातको जहर घोल्नमा तल्लीन रहे । परिणाम, अहिले आफ्नै अगाडि छ । हिजो रेड कर्नर नोटिस जारी गर्नेहरू कसैको तेजोबध गर्नकै निम्ति आज आफ्नो अवतरणलाई भव्य बनाउन सापटीस्वरूप स्वागतमा पठाइएको प्रमाण छरपष्टै भयो ।

निर्वाचन आयोग र अदालतले टुंग्याइसकेको विषय अहिले पुनः ब्युँताउनुको अर्थ अनेक लगाउन सकिन्छ । चाणक्य भन्छन् – ‘आफू उचाइमा रहिरहन पहिला अरूको पखेटा काट ।’ हो, अहिलेको मुख्य खेल यही नै हो । पार्टीलाई जीवन्तता दिन तत्पर रहेकालाई तेजोबध गर्ने रणनीति । धमिलो पानीमा माछा मार्नेहरू र गुटगत झुण्डहरूको लहसाइएलाई परित्यक्त गर्दै यथार्थलाई आत्मसातः गरेर नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुमै तपाईंको जीवनको उत्तरार्धको अन्तिम र सहज अवतरण हुनेछ ।

भदौ २४ को भाटे कुटाइमा उत्रेकाहरू अहिले साउन २८ मा निर्देशित स्वागतमा उर्लेको हुँदा फगत कसैको उक्साहटमा हौसिनु मिथ्या नै हो । चुनदेवीको ललकार र अहंकार महाभारतका दुर्योधनको भन्दा पृथक देखिएन । धृतराष्ट्रका त आँखा थिएनन् तर देउवासँग छ विवेक र चेतनाको आँखा खोल्ने ऊर्जा मिलोस् ।

केपी ओली

संघर्षका तरेलीमा धेरै उकाली–ओराली आए । झापाबाट उदाएको ओलीको संघर्षको विरासत झापाकै पराजयले कठिन मोडमा उभ्याइदिएको छ । अदम्य अठोट र राष्ट्रवादी छविले धेरै उचाइको शिखरमा पुर्‍यायो । जीवन संघर्षमय बन्दाबन्दै साढे सात दशकभन्दा बढीको बुढ्यौली उमेरमा आफैँ संघर्षशील बन्न नपर्ने हो, जुन अब कर्कलाको पातको थोप्लासरह बन्दै छ । सत्ताको खेलले ओलीका राम्रा कामहरू ओझेलमा पारिदिए ।

सत्ताकै लागि कहिले प्रचण्डलाई उचाल्ने काम भयो, कहिले देउवाको फेरो समातेर मदारीको बाँदरझैँ डोरिए । अनेक तिकडमले सत्ताको चुरोमा पुगे तर जीवनको उत्तराद्र्धको भोगाए आफ्नै अगाडि छ । सामाजिक सञ्जाललाई व्यवस्थित गरौँ, तर बन्द नगरौँ भन्ने आफ्नै पार्टीका युवाहरूको अनुरोधलाई लत्याउँदा सत्ताको शिखरबाट एकैचोटि हेलिकोप्टर चढेर भाग्नुपर्‍यो । भीम रावल, घनश्याम भुसाललगायत जस्ताका यथार्थ विश्लेषणात्मक पक्षधरलाई आफ्नै भाग खोस्न लागेको अनुभूति ग्रहण गर्नाले उनीहरूलाई पलायन हुन बाध्य पारियो ।

आफ्नो विरोध गर्नेलाई विपक्षीको दर्जा दिँदा पार्टी निरन्तर अधोगतिमा भासिँदासम्म चेतनाको बिर्को बन्द रह्यो, अब खुलेर पनि अर्थ न बर्थको अवस्थामा छ । वाचडगका लागि मुलुकमा वाम शक्ति नितान्त जरुरी छ । वाम एकता त गरियो तर फगत आफ्नो स्वार्थका लागि प्रयोग गरियो । टुट्ने, जुट्ने, चोइटिने र मिल्ने गर्दागर्दै वाम शक्ति धराशायी बन्यो । घरले जाजा र वनले आइजको यो उमेरमा अब नेतृत्व पुस्तान्तरण गरेर अरूबाट हस्तान्तरित रोगले पनि थिलो पारेको बुढेशकालको ज्यानलाई आराम दिँदा यसैमा भलो हुन्छ ।

प्रचण्ड

संसद् भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्दै जंगल छिरेको छोटो अवधिमै पटकपटक सत्ताको स्वाद चाख्ने काम भयो । जंगल यात्रा पुष्पकमल दाहालबाट ‘प्रचण्ड’ मा रूपान्तरण भयो ।

जंगलको बास र गुप्त हिँडाइ कति कष्टकर बन्यो होला, त्यसको भुक्तभोगी स्वयं हुन् । मुखको आदेश र भरोसालाई केन्द्रबिन्दु मानेर हजारौँ कलिला युवायुवती पढ्ने–लेख्ने बेलामा हतियार बोक्न बाध्य भए । कतिका छोराछोरी टुहुरा बने, कतिका बाबु–आमाको काख रित्तियो, कतिका चेलीहरूको सिन्दूर पुछियो, कति अंगभंग भए, कति बेपत्ता पारिए, कति भौतिक संरचनाहरू ध्वस्त पारिए — यसको हिसाब स्वयं प्रचण्डको जीवनडायरीमै छ ।

सत्ताको शिखरमा पुग्नासाथ सत्ता उन्मादले हिजोको पीडा भुलाइदियो । आफ्ना सन्तान, नातागोता र चाप्लुसीको घेराबन्दीले सत्ता चलाउने ढंग नपुग्दा एकैचोटि रसातलमा झारिदियो । शक्तिमा भएको बेला संघर्षका घडीमा आफ्नो आदेशको पालना गर्ने ती इमानदार लडाकुले पाएको झिनो राहतको गाँससमेत काट्ने काम गरियो । अहिले पनि कोही युद्धको घाउका पाप्रा कोट्याउँदै हिँडिरहेका छन् भने कोही खाडी मुलुकको ५० डिग्री सेल्सियसमा आफ्नो शरीर डढाइरहँदा तपाईं भने आफ्ना लागि सुरक्षित निर्वाचन क्षेत्र चाहार्दै हुनुहुन्छ । अरूले बहुविवाह गर्दा भाटे कारबाही गर्नेले आफ्नै छोरोले भएकी बुहारीमाथि सौता ल्याउँदा उत्सव भयो ।

धृतराष्ट्रको पुत्रमोहले झैँ छोरोलाई दुर्योधन बनाउन पुगियो । अन्ततः सदाका लागि उसैसँग बिछोडिनु पर्‍यो भने जीवनसंगिनी पनि गुमाउनुपर्‍यो । यी घटना कम पीडादायक छैनन् । मरेपछि मात्र स्थिर हुन्छु भन्ने उद्घोष गर्ने प्रचण्डमा सत्ता चलाउने ढंग नपुग्दा बलियो सरकार छोटो समयमै गर्ल्यागुुलुम्म ढलेको कसरी मूल्यांकन गरेका छन् कुन्नि आफैँले ? शायद सत्ता उन्मादले विवेकको ढक्कन बन्द गरिदिँदो रहेछ । खैर अब योभन्दा पाउनुपर्ने केही छैन । अतः नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुमै बुद्धिमानी ठहर्नेछ ।

राजेन्द्र लिङ्देन

 

ऊबेला झापाबाट उदाएको आशालाग्दो किरण । जस्तो सफा अनुहार, उस्तै सफा मन । आजसम्म बेदाग छवि । इमानदारीको कसीमा खरो । जो कसैलाई पनि आफ्नो सिद्धान्त आफैँलाई प्रिय र महत्वको लाग्छ । सदैव एउटै मिसन, हिन्दु राष्ट्रसहितको संवैधानिक राजतन्त्र ।

‘घुस खानु आमाको रगत खानुसरह हो’ भन्ने पवित्र उद्घोष गरेर अगाडि बढेको राजनीतिक मिसन । केही समयअघि जेनजी आन्दोलनभन्दा अघिसम्म तीन ठुला दलले गरेको उपद्रोका कारण वैकल्पिक शक्तिका रूपमा हेरिएको ।

२०७९ सालको चुनाव अघि नै सशक्त हुने अनुमान गरिए पनि कमल थापाजस्ता शक्तिका पछाडि दगुर्ने छट्टु र धवलजस्ता अवसरवादीका कारण पार्टीको मिसनमा धक्का पुग्यो । यता जेनजी आन्दोलनपूर्व भरभराउँदो अवस्थामा पुगेको पार्टी अदृश्य शक्तिले धरापमा पुर्‍याइदिए । भरभराउँदो लहरलाई पश्चिमा हावाले एक्कासि मोडियो । यहाँसम्म कि पार्टीको उपस्थिति नै संकटमा परिसकेको थियो ।

धन्न जुम्ली ठिटोले विरासत जोगाइदियो । दुई पटकसम्म पार्टीको टिकट लिएर चुनाव लडेका रविन्द्र कसैलाई वैतरणी तारेपछि पार्टी परित्याग गरेको घोषणा गरे । यस्तै–यस्तै छद्महरूको पहिचान गरी आउने दिनमा संगठनलाई चुस्त र दुरुस्त बनाउन अथक परिश्रम गरेको खण्डमा अहिले देखिएको खहरेको भेलले आफैँ मार्ग परिवर्तन गर्न सक्छ ।

गगन थापा

इमानको राजनीति भनेकै कठिन यात्रा हो । धेरै–धेरै अवरोधहरू सिर्जना हुने गर्दछन् । छद्मको राजनीति छोटो समयमै सफल हुन्छ र फलादी प्राप्त भइहाल्छ । तर छद्म र बेइमानको राजनीति नक्षत्र बन्न सक्दैन, उल्का झैँ छोटै समयमा विलुप्त भएर जान्छ । गगनको राजनीतिमा यस्तै कठिन आरोह–अवरोहको यात्रा देखिएको छ । राजनीतिमा इमानसँगै धैर्यता महत्वपूर्ण पक्ष हो । विद्यार्थी कालबाटै राजनीतिमा खरो उत्रिएकै कारण कसैलाई तिक्त लाग्नु स्वाभाविकै हो ।

विदुरको सत्यता धृतराष्ट्रलाई पाच्य भइदिएको भए सायद कौरवको वंश नाश हुन्थेन होला । न त हस्तिनापुरमा रगतको खोलो बग्दथ्यो । नेपालको दरबारमा सत्य बोल्ने कटु दुश्मन बनेकै कारण भण्डारखाल, अलौ, मकै र कोतपर्व जस्ता घटना घटे । राजनीतिलाई उहिले सेवाको भावमा गणना गरिन्थ्यो, समाज सेवा मानिन्थ्यो । नेपालमा २०५१ सालदेखि यो मान्यता बिस्तारै ओझेलमा पर्दै गयो ।

राजनीतिलाई अवसर र स्वार्थको भर्‍याङ बनाउने होड चल्यो । यस्तै होडबाजीका खेलाडीले तिमी जस्तै विश्वप्रकाश, प्रदीप, योगेश भट्टराई, देव गुरुङ, प्रदीप नेपाल, चित्रबहादुर केसी, भीम रावल, घनश्याम भुसाल जस्ता इमानको कसीमा खरो उत्रेकाहरू पाखा लगाइए र यीमध्ये कतिपयलाई पार्टी छोड्न बाध्य पारिए ।

गत भदौ २४ पछि नेपालको राजनीतिमा पृथक् परिदृश्य उदायो । पुराना दलका केही नेताहरूका कारण अकल्पित पात्रहरूको उदय भयो । योभन्दा अरू उल्लेख गरिरहनु परेन । पुराना दलहरू नेतृत्वकै कारण संक्रमणमा परे । समय र विचारको वेगलाई पुरानो नेतृत्वले थेग्न सकेकै कारण ३ ठुला पार्टीमा नेतृत्व परिवर्तनको ज्वारभाटा उठ्यो ।

गगनले कठिन तर अपरिहार्य जोखिम मोलेर विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्दै नयाँ सञ्जीवनीको सन्देश दिन खोजे पनि समय पर्याप्त हुन सकेन । अरू चुनावी माहोलमा होमिँदा आफ्नै आन्तरिक विवादले कहिले निर्वाचन आयोग त कहिले अदालतको तारेखमा कुद्नुपर्‍यो । विगतकै कुइगन्धे रछ्यानमा रमाउनेहरू घात–प्रतिघातको तमोरमा रत्यौली खेले । पार्टीको अस्तित्व र आदर्शलाई माटोमा मिलाउँदै नवोदित पात्रहरूलाई मलजलको काम गरे ।

भनिन्छ, ‘बनाउनभन्दा भत्काउन सजिलो हुन्छ’, त्यही काम भयो नौ ग्रह पात्रहरूको । बाहिरकासँग लड्न सकिन्छ, तर आफ्नै बाधक बनेपछि पराजयको ढोका सिवाय अरू केही हुँदैन ।

अहिले समय र परिस्थिति प्रतिकूल छ । कतिपय ऐतिहासिक पात्रहरू आफ्नै भस्मासुरमा रल्लिएका छन् । हुनेनहुने बोल्दै आफ्नै चीरहरण गर्दै छन् । चारैतर्फको घेराबन्दीबाट निस्कन प्रसववेदना जत्तिकै छ । चुनदेवीका भुनभुनेहरूलाई नवोदित पात्रहरूले टेको दिएका छन् र त टुंगो लगाएर थान्को लागेको विषयमा पनि अदालतबाट आदेश माग्न लगाइनु र माग्नुको तारतम्य मिलेको छ । यसमा बाह्य शक्तिको पनि हात तन्केको छ । अझै विखण्डनकारी हातहरू तन्कँदै छन् । यस्तै किचलो आगामी वैशाखसम्म तन्काइदिएमा पार्टी, कार्यकर्ता र चुनाव चिह्नको अस्तित्व परमधाम गराउन सकिने मनोकांक्षा तालुकदारहरूको छ ।

यो विषम ज्वालामुखीको अग्निपरीक्षामा पार पाउनको लागि धेरै नै कठिन यात्राको समर्पणमा लाग्नुपर्ने देखिन्छ । तालुकदारहरूको अन्तिम भेदन नेतृत्वबाट पाखा लगाउनु नै हो । संकटको यस विशाल परिधिलाई पार गर्न युवालाई अवसर र पाकालाई सम्मान दिएर नमुना बन्दै अरू पार्टीलाई पनि आँखा खोलिदिने नवीन सोचको युगान्तकारी प्रलय अपेक्षित छ ।  (साभारः साैर्या दैनिक)

लेखक सप्ताहिक भैरहवाका पूर्ब प्रधान सम्पादक हुन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *