खोजि गर्नुहोस..

मणिग्राममा अन्तर्राष्ट्रिय सम्मेलन, ४ देशका ३० कार्यपत्र प्रस्तुत

मणिग्राम, ८ भदौ । रूपन्देहीको मणिग्राममा आयोजित दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित विभिन्न चार देशका ३० वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत भएका छन्।

अनुसन्धान व्यवस्थापन समिति, राममणि बहुमुखी क्याम्पस, मणिग्रामको आयोजनामा भएको सम्मेलनमा नेपालसहित विभिन्न देशका विज्ञ तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो। सम्मेलनमा प्रस्तुत ३० वटा कार्यपत्रमाथि गहन छलफल तथा विवेचना गरिएको आयोजकले जनाएको छ।

“Emerging Perspectives in Social Sciences and Pedagogical Opportunities – Pursuit of Excellence” अर्थात् ‘सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू : उत्कृष्टताको खोजीमा’ भन्ने मूल विषयमा केन्द्रित सम्मेलन आयोजना गरिएको क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले बताउनुभयो।

सम्मेलनअन्तर्गत आइतबार अर्थशास्त्र तथा व्यवस्थापन, शिक्षा तथा शिक्षण विधि र कला, साहित्य तथा सामाजिक विज्ञान गरी तीनवटा क्षेत्रमा कार्यपत्र प्रस्तुति तथा छलफल गरिएको थियो। कार्यपत्र प्रस्तुतिसँगै सहभागी तथा विज्ञका जिज्ञासा, टिप्पणीकारका सुझाव र सम्बन्धित सत्रका सभाध्यक्षबाट आवश्यक निर्देशन दिने कार्यसमेत सम्पन्न भएको सम्मेलनका संयोजक डा. अशोक भण्डारीले जानकारी दिनुभयो।

अर्थशास्त्र तथा व्यवस्थापनतर्फ १३ कार्यपत्र

 

अर्थशास्त्र तथा व्यवस्थापन क्षेत्रअन्तर्गतको कार्यपत्र प्रस्तुति प्रा.डा. प्रकाश श्रेष्ठको अध्यक्षता तथा प्रा.डा. बाबुराम ज्ञवाली र प्रा.डा. गणेशप्रसाद पाठकको टिप्पणीमा सञ्चालन भएको थियो। उक्त सत्रमा विभिन्न विश्वविद्यालय तथा क्याम्पसका तर्फबाट १३ वटा कार्यपत्र प्रस्तुत गरिएको सत्र सञ्चालक कृष्णकुमार रेग्मीले जानकारी दिनुभयो।

समाजशास्त्र, कला तथा साहित्यतर्फ ८ कार्यपत्र

त्यस्तै, समाजशास्त्र, कला तथा साहित्य क्षेत्रअन्तर्गतको कार्यपत्र प्रस्तुति भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा.डा. अनुराग द्विवेदीको अध्यक्षता तथा उपप्राध्यापक डा. शालिकराम पौडेलको टिप्पणीमा सञ्चालन भएको थियो। उक्त सत्रमा विभिन्न विश्वविद्यालय तथा क्याम्पसका तर्फबाट आठवटा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको उपप्राध्यापक नोवराज तिवारीले जानकारी दिनुभयो।

शिक्षा तथा शिक्षण विधितर्फ ९ कार्यपत्र

यसैगरी, शिक्षा तथा शिक्षण विधि क्षेत्रअन्तर्गतको कार्यपत्र प्रस्तुति सहप्राध्यापक डा. खुमप्रसाद शर्माको अध्यक्षता तथा उपप्राध्यापक लक्ष्मण प्रसाद भण्डारीको टिप्पणीमा सञ्चालन भएको थियो। उक्त सत्रमा विभिन्न देशका विश्वविद्यालय तथा क्याम्पसका तर्फबाट नौवटा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रम सञ्चालक जीवनकुमार पौडेलले जानकारी दिनुभयो।

यसअघि शनिबार सम्मेलनको उद्घाटनलगत्तै विभिन्न तीन देशका तीनजना मुख्य वक्ताबाट अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति तथा दुईवटा विशेषज्ञ समूह छलफल आयोजना गरिएको थियो। सम्मेलन क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको सभापतित्वमा सम्पन्न भएको थियो। समापन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक डीन प्रा.डा. दिलीप पराजुलीले अनुसन्धानका क्षेत्रमा आवश्यक सहयोग गर्न आफूहरू सदैव तयार रहेको बताउनुभयो।

उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको समापन सत्रमा यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद पौडेल, प्राध्यापक संघका सभापति राजेन्द्र थापा, कार्यपत्र प्रस्तोता भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपप्राध्यापक डा. विनयकुमार गुप्ता तथा उर्लाबारी बहुमुखी क्याम्पस, मोरङका उपप्राध्यापक विष्णु मगरलगायतले सम्मेलनले प्राज्ञिक उन्नयनमा नयाँ अध्याय थपेको बताउनुभयो।

सम्मेलनका क्रममा राममणि बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए। क्याम्पसका लेखाप्रमुख विष्णुप्रसाद भुसालले विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत सम्मेलनमा सहभागी अतिथि तथा विज्ञलाई मनोरञ्जन प्रदान गरेको जानकारी दिनुभयो। आयोजकका अनुसार सम्मेलनले सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन, कला तथा साहित्यका क्षेत्रमा भइरहेका अनुसन्धानलाई अन्तर्राष्ट्रिय तहमा आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *