ताैलिहवा । नेपाली कांग्रेसका नेता एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रराज आचार्यले विगतका कमी–कमजोरीलाई आत्मसात् गर्दै सुधारका साथ जनताको माझमा जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बोल्दै उहाँले जनताका सुझाव र आलोचनालाई गम्भीर रूपमा लिएर अघि बढ्ने बताउनुभयो।
नेपाली कांग्रेस कपिलवस्तु नगर समितिले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले कांग्रेस लोकतन्त्र, संविधान र नागरिक अधिकारको पक्षमा निरन्तर उभिँदै आएको पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले संगठनभित्र देखिएका सानातिना कमजोरीलाई सच्याउँदै एकताबद्ध भएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो।
“हामीले विगतको समीक्षा गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्छ,” उम्मेदवार आचार्यले भन्नुभयो, “विकास, सुशासन र जनताको दैनिकीसँग जोडिएका मुद्दा नै हाम्रा मुख्य प्राथमिकता हुन्।” उहाँले जनताको विश्वास र समर्थनका आधारमा मात्र समृद्धि सम्भव हुने उल्लेख गर्दै कांग्रेसकै नेतृत्वमा मुलुकमा स्थायित्व र समावेशी विकास सम्भव हुने दाबी गर्नुभयो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले संगठन सुदृढीकरण, प्रभावकारी कार्यकर्ता परिचालन र घरदैलो अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका थिए। निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै तहका नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनीहरूको भनाइ थियो।
भेलामा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य र उत्साहजनक उपस्थिति रहेको थियो।