खोजि गर्नुहोस..

‘२७ लाख मतदाताको घरदैलोमा पुगौँ, कांग्रेस बदलिएको सन्देश दिऔँ’ : सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी पूर्ण रूपमा रूपान्तरण भएको दाबी गर्दै यो सन्देश प्रत्येक नागरिकको घरदैलोसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले शनिबार आयोजना गरेको विशेष ‘सदस्य भेला’लाई सम्बोधन गर्दै सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनको मर्मअनुसार कांग्रेसले आफूलाई बदलेको र अब देश बदल्ने महाअभियानमा होमिएको बताए।

‘जेन्जी’ सँग संवाद र मतदातासँग पुनर्मिलन

सभापति थापाले विगतमा कांग्रेससँग असन्तुष्ट रहेका र रिसाएका नागरिकहरूलाई फकाउनु नै अहिलेको मुख्य कार्यभार रहेको बताए। उनले भने, “विगतमा कांग्रेसलाई मतदान गरेका २७ लाख मतदाताको घर–घरमा गएर संवाद गर्नुपर्नेछ। उनीहरू किन रिसाए, हाम्रा कमजोरी कहाँ भए, त्यसलाई ‘फेस’ गर्नुपर्छ।”

विशेष गरी नयाँ पुस्ता (Gen-Z) को प्रसङ्ग जोड्दै उनले थपे, “सडकमा युवाहरूले जे आवाज उठाए, त्यसकै आधारमा आफूलाई बदलेको एक मात्र पार्टी कांग्रेस हो। माघको अधिवेशनपछि कांग्रेस सबैभन्दा नयाँ पार्टी बनेको छ। यो सन्देश लिएर अब कार्यकर्ताहरू गाउँ–टोलमा पुग्नुपर्छ।”

गुटबन्दीको ‘च्याप्टर क्लोज’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई लिएर थापाले अब पक्ष–विपक्षको राजनीति सकिएको घोषणा गरे। “रिसाएकाहरूको मागअनुसार नै अधिवेशन भयो र नयाँ नेतृत्व आयो। यसमा कसैले हारेको छैन, सबैले जितेका छौँ,” उनले भने, “अब पक्ष–विपक्षको ‘च्याप्टर क्लोज’ भयो, हामी सबै एक ठाउँमा छौँ र एक ढिक्का भएर अगाडि बढ्छौँ।”

प्रदीप पौडेल: क्याबिनेटमा झगडा गर्ने ‘जिम्मेवार विद्रोही’

सोही अवसरमा सभापति थापाले कांग्रेस महामन्त्री एवं सोही क्षेत्रका सांसद प्रदीप पौडेलको खुलेर प्रशंसा गरे। उनले पौडेललाई ‘जिम्मेवार विद्रोही’ को संज्ञा दिएका छन्।

भाद्र २३ को घटना स्मरण गर्दै थापाले भने, “त्यो दिन प्रधानमन्त्रीको क्याबिनेटमा बसेर युवाको आवाज सुन्नुपर्छ भन्दै झगडा गर्ने मान्छे प्रदीप पौडेल हो। मन्त्रीका रूपमा उनले स्वास्थ्य बीमामा देखिएका अप्ठ्यारा हटाउन खोज्दा सहयोग नपाएर छटपटिएको मैले नजिकबाट देखेको छु।”

समुन्नत नेपाल निर्माणका लागि संसद र सरकारमा प्रदीप पौडेल जस्ता इमानदार र जुझारु नेताको अपरिहार्यता रहेकोमा उनले जोड दिए।

भ्रष्टाचार र भागवण्डाविरुद्धको संकल्प

देशमा बढ्दै गएको भागवण्डाको संस्कृति र भ्रष्टाचारलाई रोक्न कांग्रेस अब सशक्त रूपमा उभिने थापाको दाबी छ। उनले मुलुकका सबै पक्षलाई मिलाएर लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको बताउँदै पार्टीको यो नयाँ संकल्प र एजेन्डालाई सामाजिक सञ्जालमार्फत व्यापक बनाउन समेत कार्यकर्तालाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *