लुम्बिनी ।
लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखा जिल्लाका दीपक श्रेष्ठलाइ हालै गरिएको नियुक्तिप्रति लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गर्दै सरकारलाइ जनभावनाको अवहेलना नगर्न चेतावनी दिएका छन्।
सक्रिय नागरिक समूह ‘लुम्बिनी बचाउ महाअभियान’ ले फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै, गोरखाको शहीद लखन गाउँपालिका स्थायी घर भई हाल काठमाडौं बसोबास गर्ने श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा राख्नु कुनै पनि दृष्टिले स्वीकार्य नहुने ठहर गरेको छ। महाअभियानले लुम्बिनी जस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको क्षेत्रमा भाषा, भूगोल र स्थानीय संस्कृतिबारे पर्याप्त ज्ञान नभएका व्यक्तिलाई पठाउनुले ‘भ्रष्टाचारको खेलोको गन्ध’ पस्किएको आरोप लगाएको छ।
समूहले भनेको छ— “भ्रष्टाचारविरुद्धको आन्दोलनको जगमा बनेको सुशिला कार्की नेतृत्वको सरकारबाट यस्तो घृणित कदमको अपेक्षा लुम्बिनीका जनताले गरेका थिएनन्।”
महाअभियानका सह–संयोजक राम विकास चौधरीको फेसबुक वालमा पोष्ट गरिएको उक्त स्टाटसले सरकारले गरेको पछिल्लो नियुक्तिप्रति स्थानीयको तीव्र असन्तुष्टि स्पष्ट रुपमा बाहिर ल्याएको छ। स्थानीय बासिन्दाले सदस्य–सचिव जस्तो महत्वपूूर्ण पदमा लुम्बिनी क्षेत्रका व्यक्तिलाई नै प्राथमिकता दिनुपर्ने माग राख्दै, सो माग पूरा नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।
यससँगै उक्त अभिव्यक्तिले लुम्बिनीजस्तो विश्व शान्तिको केन्द्रमा पारदर्शिता, स्थानीय सरोकार र संवेदनशीलताप्रति सम्मान जनाउन सरकारले गम्भीरता देखाउनुपर्ने दबाब पनि सिर्जना गरेको छ।
भिडियो