खोजि गर्नुहोस..

कांग्रेस कपिलवस्तुमा तालाबन्दी र रिले अनशन, आन्तरिक विवाद चुलिँदै

देवीराम बन्जाडे ।  तौलिहवा। नेपाली कांग्रेस कपिलवस्तुमा आन्तरिक विवाद चुलिँदै गएको छ। संस्थापन इतर समूहले आइतबार तौलिहवा स्थित पार्टी कार्यालयमा तालाबन्दी गर्दै रिले अनशन सुरु गरेको हो।

यो विवादको सुरुआत प्रदेश सभापति अमर सिंह पुनले मनोनित प्रदेश सदस्य तथा पूर्व एसएसपी बिक्रम सिंह थापालाई हटाएपछि भएको हो। भदौ १७ गते थापाका समर्थक र असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी र तोडफोड गरेका थिए। त्यसपछि भदौ १९ गते प्रहरीको उपस्थितिमा ताला काटेर बसेको जिल्ला कार्यसमितिको बैठकले अनुशासन समितिलाई आवश्यक कारबाहीको सिफारिस गर्ने म्यान्डेट दिएको थियो। तर हालसम्म कुनै सिफारिस जिल्ला कार्यसमितिलाई पेश भएको छैन।

यसैबीच शनिबार दिनेश हमालको संयोजकत्वमा बनेको संघर्ष समितिले पार्टी भवनको गेटमा तालाबन्दी गरी अनशन सुरु गरेको हो। संघर्ष समितिका अनुसार आइतबार साँझ ४ बजेदेखि सुरु भएको रिले अनशन चार/चार घण्टाको सिफ्टमा चल्नेछ र माग पूरा नभएसम्म निरन्तर रहनेछ।

अनशनरत समूहले पार्टी सभापति अब्दुल कलामले चलाएको हैकमवाद अन्त्य हुनुपर्ने, क्रियाशील सदस्य वितरण पारदर्शी हुनुपर्ने र पार्टी विधि तथा विधानअनुसार सञ्चालन हुनुपर्ने माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *