लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘लुम्बिनी बचाउ महाअभियान’ले पूर्णिमाको अवसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा ७०० भन्दा बढी श्रद्धालुलाई खीर प्रसाद वितरण गरेको छ । महाअभियानले अब प्रत्येक पूर्णिमाको अवसरमा प्रसाद बितरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यो कार्यक्रम बुद्ध जीवनको महत्वपूर्ण क्षणको स्मरणमा आयोजना गरिएको महाअभियानका नेता राम बिकास चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्ध ग्रन्थहरू अनुसार, बुद्धत्व प्राप्त गर्नुअघि कठोर तपस्याले कमजोर बन्नुभएका सिद्धार्थलाई सुजाता नामकी युवतीले चढाएको खीर (खिरान्न) ग्रहण गरेपछि ऊर्जा प्राप्त भएको थियो ।”
सुजाताले दिएको खीर खाएपछि बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गर्नुभएको कथा सुनाउदै अभियानकर्ता लक्ष्मी थारूले भन्नुभयो, “यही मान्यतालाई आत्मसातगर्दै पूर्णिमाको दिन खीर वितरणलाई पवित्र कार्य मानिन्छ, र हामी स्थानीयले मायादेबी मन्दिरको मुख्य प्रबेशद्वार अगाडी आजैको दिनबाट खीर बितरण शुरू गरेका हौ ।”
त्यसैगरी महाअभियानका सह–संयोजक मेघनाथ आचार्यले भन्नुभयो, “पूर्णिमा बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र दिन हो । भगवान बुद्धको जीवनका धेरै महत्वपूर्ण घटनाहरू यही तिथिमा भएका थिए । ज्ञान प्राप्त गर्नुअघि उहाँले खाएको खीरलाई प्रसादको रूपमा हामी वितरण गरेर बुद्धको त्याग, मध्यम मार्ग र ज्ञानको सन्देशलाई आम मानिससम्म पु़्र्याउने प्रयासको थालनी लुम्बिनीबाट शुरू गरेका हौँ ।”
कार्यक्रममा देशी, बिदेशी र लुम्बिनी क्षेत्रबाट उल्लेख्य संख्यामा स्थानीय श्रद्धालुहरू सहभागी हुनु भएको थियो । महाअभियानको टोलीले मायादेवी मन्दिरमा पूजापाठ तथा प्रार्थना समेत गरेको थियो । यस्ता कार्यक्रमले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्ने र धार्मिक पर्यटन प्रवर्धनमा समेत सघाउ पुग्ने विश्वास लिइएको ’लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले बताउनुभयो ।
‘महाअभियान’ले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको संरक्षण, संवर्धन र विकासका लागि विभिन्न गतिविधिहरू सञ्चालनगर्दै आएको छ । संयोजक खाँले यो प्रसाद वितरण कार्यक्रमलाई महाअभियानकै एक हिस्साको रूपमा रहेको प्रस्तुत गर्दै भन्नुभयो, “अब प्रत्येक पूर्णिमामा यसैगरी बुद्धजन्मस्थल मायादेबी मन्दिर अगी नै खीर प्रसाद वितरण गरिनेछ । यसले लुम्बिनीको आध्यात्मिक गरिमालाई जीवन्त राख्न मद्दत पुर्याउने हाम्रो विश्वास छ ।”…