ताैलिहवा । कपिलवस्तु नगरपालिका वडा नं. ५ मा वडा अध्यक्ष दिरेप कुमार चौधरीको नेतृत्वमा विविध क्षेत्रमा उल्लेखनीय विकासका कामहरू सम्पन्न भएका छन्। वडामा पूर्वाधार निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, धार्मिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ।

वडाभित्रका सबै मुख्य सडकहरूको निर्माण कार्य सम्पन्न भइसकेको छ। शिक्षाको स्तर उकास्न धर्मभक्त निमाविलाई माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको छ भने कोटी ग्राम विद्यालयलाई पनि माध्यमिक तहमा रूपान्तरण गरिएको छ। दुवै विद्यालयमा चार कोठे नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भई निर्माण कार्य अघि बढिरहेको छ। साथै, कोटी ग्राम माविमा पर्खाल निर्माण पनि गरिएको छ।
धर्मभक्त माविका एसईई परीक्षार्थीहरूका लागि वडा कार्यालयले वडाको बजेटबाट अतिरिक्त कक्षा सञ्चालन गरियो । वडा भित्रका सबै बिद्यालयका बालबालिकाका ड्रेस, झोला एवं शैक्षिक सामाग्री वितरणका कार्यहरू भएका छन् । बाल विकास तर्फ पनि कोटी ग्राम, धर्मभक्त र कपियवा क्षेत्रमा बाल विकास भवन निर्माण गरिएको छ।
सामुदायिक संरचना विकासमा डंगरी र श्रीरामपुरमा सामुदायिक भवनहरू निर्माण सम्पन्न गरिएका छन्। दलदलहा गाउँमा मदरसा तथा श्रीरामपुरमा मस्जिद र इदगाहको निर्माण गरिएको छ। वडाभित्रका विभिन्न मठ–मन्दिरहरूको जीर्णोद्धार पनि गरिएको छ।
कृषि प्रवर्द्धनका लागि कृषकहरूलाई तरकारी तथा दूध उत्पादनमा आवश्यक बीउ, घाँसको बीउ तथा स्प्रे ट्यांकी वितरण गरिएको छ। स्वास्थ्य क्षेत्रमा पनि वडाले सक्रियता देखाउँदै नियमित स्वास्थ्य परीक्षण गराएका महिलाहरूलाई सुपरनेट झुल, ६ महिना देखि २ वर्षका बालबालिकालाई सर्वोत्तम पिठो वितरण गरिएको छ। डंगरी स्वास्थ्य चौकीको मर्मतसहित पर्खाल निर्माण गरिएको छ भने खानेपानीका लागि हेण्डपाइप जडान निरन्तर गरिएको छ।
खेलकुदको प्रवर्द्धनका लागि खेल सामग्री वितरण गरिएको छ भने ‘वडाकप क्रिकेट प्रतियोगिता’ पनि आयोजना गरिएको छ। बाल विकास कक्षाका लागि विद्यालयमा एलईडी जडान गरिएको छ। धर्मभक्त मावि बभनी र कोटी ग्राम माविमा अध्ययनरत विद्यार्थीहरूका लागि ल्याब तथा पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
वडा अध्यक्ष चौधरीका अनुसार यी सबै प्रयासहरू वडाको समग्र विकास तथा स्थानीय बासिन्दाहरूको जीवनस्तर उकास्ने उद्देश्यसाथ गरिएको हो।