असार १, कपिलवस्तु । उपभोक्तालाई ठगी गर्दै कम नापतौलमा पेट्रोल र डिजेल बिक्री गरेको पाइएपछि कपिलवस्तुका दुई पेट्रोल पम्पलाई एक–एक लाख रुपैयाँ जरिवाना गरिएको छ।
गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक निराजन पुडासैनीका अनुसार कपिलवस्तु नगरपालिका–१ को पुरानो हाटबजारस्थित उमा ट्रेडिङ र नगरपालिका–४ को कोदाहास्थित ओझा पेट्रोल पम्प नापतौलमा कम देखिएपछि कारबाहीमा परेका हुन्।
उपभोक्ताबाट लगातार गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा जेठ २० गते तौलिहवा र वरपरका चारवटा पेट्रोल पम्पमा अनुगमन गरिएको थियो। अनुगमनको क्रममा उमा ट्रेडिङ र ओझा पेट्रोल पम्पमा नापतौलमा अनियमितता भेटिएको र तुरुन्तै सिलबन्दी गरिएको पुडासैनीले जानकारी दिए।
नापतौल ऐन २०२५ अनुसार दुवै पम्पलाई जरिवाना गरिएको हो। उपभोक्ताले यस्ता अनियमितता देखेमा गुणस्तर तथा नापतौल कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न पुडासैनीले आग्रह गरेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले कारबाहीमा परेका पम्पहरूलाई प्रविधिक नापजाँचपछि मात्रै पुनः सञ्चालनको अनुमति दिइने बताएका छन्।