खोजि गर्नुहोस..

६८ लाख सहित ४ हुण्डी कारोबारी पक्राउ

काठमाडौं, मंसिर २ — प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न चार जनालाई स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गबाट मंगलबार स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापा बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय युवराज सुवेदी रहेका छन्।

प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार, स्रोत नखुलेको ठूला रकमको अवैध कारोबार गर्ने गिरोहबारे विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। उक्त सूचनाका आधारमा सिनामंगल क्षेत्रमा निगरानी राखी खोजतलास गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू हुण्डी कारोबारमा संलग्न रहेको र ठूलो मात्रामा रकमको ओसारपसार गरिरहेको खुलासा भएको छ।

अवैध हुण्डी कारोबारले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्ने हुँदा प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी राख्दै आएको अधिकारीले जानकारी दिए। “यस प्रकारका आर्थिक अपराधलाई नियन्त्रण गर्न प्रहरी सतर्क छ, र यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ,” एसपी अधिकारीले थपे।

पक्राउ परेका चारैजनालाई अहिले महानगरीय प्रहरी वृत्त, गौशालामा राखी थप अनुसन्धान भइरहेको छ। प्रहरीले अवैध कारोबारको श्रृंखला, संलग्न अन्य व्यक्तिहरू तथा कारोबारमा प्रयोग भएका अन्य उपकरणहरूको खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *