काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताए । सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका महिला नेताहरूको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्धी मुद्दामा जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था नहुने बताएका हुन् । ‘यसबारे सरकार संवेदनशील छ । हदम्याद बढाउनुपर्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भनेको उदृत गर्दै सांसद् एवम् कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा महिलासम्बन्धी मुद्दाहरूमा सरकारलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेको टोलीमा कांग्रेसका महिला नेताहरू सहभागी थिए ।उनीहरूले लैंगिक हिंसासम्बन्धी कानुनको पुनरावलोकन गर्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन गर्न, आगामी वर्षको बजेटमा महिलाको स्वास्थ्यलाई लक्षित गरेर कार्यक्रम र योजनाहरू ल्याउन माग गरेका छन् ।सांसद संग्रौलाले पछिल्लो समय मूल्यवृद्धिका कारण महिलाको दैनिकीमा परेको असरबारे समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताइन् ।
Related