प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिकामा गठबन्धन दलबीच पदको बाँडफाँटसहित चुनावी तालमेलको निर्णय भएको छ ।
आइतबार गठबन्धनका तीन दल नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीचको बैठकले स्थानीय निर्वाचनका लागि पालिकादेखि वडातहसम्म पद बाँडफाँट गरेको हो।
सहमति अनुसार नेपाली कांग्रेसले नगरप्रमुख सहित ३ वटा वडा पाउने छ भने राष्ट्रिय जनमोर्चाले उपप्रमुखसहित ४ वटा वडा अध्यक्ष पाउने भएको छ। दुई वडाको नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीन दलबीच जुन वडामा जसले नेतृत्व गर्नेछ, उसैको चिन्हमा लड्ने सहमति पनि भएको छ। विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति गिरबहादुर घर्ती, राष्ट्रिय जनमोर्चाका नगर इन्चार्ज इमानसिंह खड्का र माओवादी केन्द्रका अध्यक्ष टेकबहादुर भट्टराईको हस्ताक्षर रहेको छ। प्युठानमा पद बाँडफाँट गर्ने स्वर्गद्वारी नगरपालिका पहिलो भएको छ। जिल्लास्तरमा भने सहमति हुन बाँकी छ।
Related