खोजि गर्नुहोस..

स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन्। पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् ।जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन्। हालसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले छ पालिकामा अध्यक्ष एवं प्रमुखको उम्मेदवार छनोट गरेका छन्। कुनै पनि पालिकामा कुनै पनि पार्टीले उपाध्यक्षको उम्मेदवार भने छनोट गरेका छैनन्।

जिल्लामा सबैभन्दा पहिले नेकपा (माओवादी केन्द्र)ले चन्द्रकोट गाउँपालिकामा अध्यक्षको उम्मेदवार छनोट गरेको थियो। पार्टीले प्रदेश कमिटी सदस्य युवराज केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। गठबन्धनबाट पालिका उपाध्यक्षमा कांग्रेसको उम्मेदवार हुने भनिए पनि कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छैन ।धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। पोखरेलको नेतृत्वमा भएको जनप्रिय कामले गर्दा उनलाई नै अध्यक्षको उम्मेदवार बनाइएको गाउँ कमिटी अध्यक्ष गोपाल कुँवरले जानकारी दिए। धुर्कोटमा अझैसम्म पनि गठबन्धनको टुङ्गो नलाग्दा माओवादीले अध्यक्षको उम्मेदवार घोषणा गरेको हो।

मुसिकोट नगरपालिकामा नेकपा (एमाले)ले जीवन खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीभित्र योगदानका आधारमा सर्वसम्मत नगरप्रमुख पदको उम्मेदवार बनाइएको पार्टीका पालिका अध्यक्ष प्रकाश काफ्लेले बताए। मुसिकोटमै कांग्रेसका तर्फबाट हरिनारायण सापकोटालाई नगरप्रमुखको उम्मेदवार बनाइएको छ। सापकोटा पार्टीका पूर्वजिल्ला सचिव हुन्। कांग्रेसले आइतबार सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाएको हो। माओवादी केन्द्रले भने नगरप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छैन। कालीगण्डकी गाउँपालिकामा एमालेले रामजी ढकाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। ढकाल हाल पार्टीको गाउँ कमिटी अध्यक्ष हुन्। जिल्लामा सबैभन्दा बढी एमालेले वडाध्यक्षका उम्मेदवार टुङ्गाएको छ। जिल्ला सचिव गणेश श्रीपालीका अनुसार हालसम्म २५ वडामा वडाध्यक्षको उम्मेदवारको टुङ्गो लगाइएको छ। एमालेले धुर्कोट गाउँपालिका–३ हाडहाडेमा विष्णुबहादुर श्रीस र वडा नं ६ रजस्थलमा कृष्ण नेपालीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।

उनीहरु दुवै वडाध्यक्ष छन्। कांग्रेसले पनि हालसम्म १५ वडामा वडाध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ। मुसिकोट र रेसुङ्गा नगरपालिका, धुर्कोट लगायतका पालिकाका केही वडामा वडाध्यक्षको उम्मेदवारको छनोट गरिसकेको छ। माओवादी केन्द्रमा धुर्कोट, चन्द्रकोट र मालिकाबाहेक अन्य पालिकामा अध्यक्षका उम्मेदवार घोषणा भएका छैनन्। रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवालीलाई अध्यक्षको उम्मेदवार बनाउने भने पनि अहिलेसम्म औपचारिकता प्रदान गरिएको छैन। पार्टीले हालसम्म जिल्लाका कुनै पनि वडामा वडाध्यक्षको छनोट गरेको छैन। सबै वडामा उम्मेदवार तयारी अवस्थामा राखिएकाले केही दिनभित्रै घोषणा गर्ने जिल्ला संयोजक बुद्धि जिसीले बताए। जिल्लाको रेसुङ्गा, मदाने, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र र सत्यवती गाउँपालिकाका लागि कुनै पनि दलले अध्यक्ष पदको उम्मेदवार टुङ्गाएका छैनन्।

पालिकामा गठबन्धन

जिल्लाको मालिका गाउँपालिकामा पाँच दलीय गठबन्धन भएको छ। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसले उम्मेदवार बनाउने गरी चुनावी तालमेल गरिएको छ। अध्यक्षमा माओवादीका तर्फबाट देवीराम अर्याल उम्मेदवार छन्। उपाध्यक्षमा कांग्रेसले उम्मेदवार छनोट गरिसकेको छैन। कूल आठ वडा रहेको मालिकामा वडा नं ३ ह्वाङ्दी र वडा नं ८ मर्भुङ्गमा माओवादी र अन्य छ वडामा कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस मालिकाका सभापति उपेन्द्र अर्यालले जानकारी दिए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)लाई केही वडा सदस्यमा उम्मेदवारी दिनेगरी सहमति भएको अर्यालले बताए। ह्वाङ्दीमा अर्जुन बुढा मगर र मर्भुङ्गमा सूर्यबहादुर जिसी वडाध्यक्षका उम्मेदवार छनोट भएका छन्। कांग्रेसको भागमा परेका वडाध्यक्षका उम्मेदवार पनि केही दिनमै टुङ्गो लगाइने सभापति अर्यालको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *