रुपन्देही । भगवान गौतम बुद्धको मावली गाउँ देवदहमा रुस र युक्रेन युद्धको विरोध गर्दै ढुंगाका मूर्तिहरू कुँदिएका छन् । रुपन्देहीको देवदह क्षेत्रमा पर्यटन विकास र विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको मूर्तिकला कार्यशालामा निर्माण गरिएको एउटा मूर्तिले रुस र युक्रेनबीचको युद्धको विरोध गरेको छ । ठूलो ढुंगामा कुँदिएको मूर्तिमा युद्ध ट्यंकमाथि भगवान बुद्धको शयन भाव झल्काइएको छ । यो मूर्तिले ‘युद्ध त्याग शान्तिको मार्गमा हिँड’ भन्ने सन्देश विश्व समुदायलाई दिएको छ । यो मूर्ति रामचन्द्र पण्डितले कुँद्नुभएको हो ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदह बुद्धको मालवी क्षेत्र भएकाले यस क्षेत्रको विकास गर्न टेवा पुगोस् भनेर मूर्तिकला कार्यशाला राखिएको बताउनुभयो । यहाँ कुँदिएका मूर्तिहरूमा बुद्धले ध्यान गरिरहेकोदेखि विभिन्न भाव झल्काउने खालका रहेका छन् ।