काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनी दोस्रो तथा अन्तिम ओडिआई खेलमा टस जितेको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
पपुवा न्युगिनी पहिलो खेलमा ६ रनले विजयी हुँदै दुई खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ । नेपाललाई सिरिज बराबरीमा सक्न आजको खेल जित्नुपर्ने हुन्छ । पछिल्लो खेलमा २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो ।
नेपालले एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर कमलसिंह ऐरीको स्थानमा विक्रम सोबलाई खेलाएको छ ।
युवा ब्याटर रोहित पौडेलले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार कीर्तिमानी शतकीय इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेका थिएनन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो । जुन ओडिआईमा पपुवा न्युगिनीको बनाएको यो हालसम्मकै ठूलो योगफल थियो ।
त्यसैले पपुवा न्युगिनीको मनोबल उच्च छ । पपुवा न्युगिनीले २०१८ पछि नेपाललाई पहिलो पटक हराएको थियो । ओडिआईमा नेपालमाथि पहिलो जित थियो । पपुवा न्युगिनीलाई हराउन चाल्र्स अमिनी, नर्मन भानुआ र असाद भालाले उच्च प्रर्दशन गरेका थिए । यी तीन खेलाडीनै पपुवा न्युगिनीका मुख्य हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शनले धेरै फरक पार्दछ । पहिलो खेल भएको पिचमा नै आजको खेल भएको छ । त्यसैले आजको खेलमा पनि खेलमा ब्याटिङ हाबी हुनसक्छ ।
नेपालको प्लेइङ–११ :
कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, विक्रम सोब, सन्दीप लामिछाने र पवन सरार्फ ।
Related