प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नारालाई स्पष्ट पार्नुभयो । उपभोक्ताहरुको अनेकौं कमी कमजोरीले उद्योगी व्यवसायीहरुले लापार्वाही गरेको भन्दै उहाँले त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले उपभोक्ताहरुको हकहित तथा अधिकारीलाई संघले सदैव ध्यानमा राखेर काम गरि रहेको दाबी गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका घिमिरेले नेपाललमा व्यापार, व्यवसाय गर्न कठिन रहेको बताउँदै सामानको उपयोग गर्ने हरेक नागरिक सचेत हुन आवश्यक रहेको बताउनुभयो । पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको उहाँको भनाई छ । उपभोक्ता अधिकारलाई नेपालको संविधानको धारा ४४ मा मौलिक हकका रूपमा राखिएको छ । तर पनि व्यवहारमा भने उपभोक्ता सधैँ ठगिरहनुपरेको सरोकारवालाको बुझाइ छ ।

दैनिक जीवनमा प्रयोग हुने धेरैजसो सामान जोखेर खरिद–बिक्री हुने भए पनि त्यसमा प्रयोग हुने ढक–तराजु भने नियमनबाहिर रहेको पाइएको छ । गुणस्तर तथा नापतौल विभागको निष्क्रियताले बजारमा नवीकरण नभएका र नापतौल नै प्रमाणित नभएका ढक–तराजु मात्रै होइन, प्रतिबन्धित ढक–तराजुले पनि सामान तौलने गरिएको बजारमा देखिने गरेपनि सम्बन्धित निकायले चासो नदिँदा उपभोक्ता ठगिन बाध्य भएका हुन् । गुणस्तर तथा नापतौल डिभिजन कार्यालयको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ । यसबाट व्यापारी मोटाइरहेका छन् भने उपभोक्ता दिनहुँ ठगिइरहेका छन् । त्यसैगरी एउटै सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुँदा एउटै सामानको तीन थरी मूल्य तिर्न उपभोक्ता बाध्य छन् ।