२०७८ साल मङ्सिर ३ गते दिउँसो ३ बजे ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिका–३, तरैनीबाट सुमेरचन्द्र लोधी (४० वर्ष) लाई भारतीय प्रहरीको स्पेसल टास्क फोर्स (एसटिएफ) को एक टोलीले नियन्त्रणमा लियो । तर, पछि उनलाई भारतको महराजगन्ज बस स्टेसनबाट पक्राउ गरिएको दाबी गरियो ।

डकर्मी तथा ब्यान्डबाजा बजाउने पेसा अपनाएका सुमेरचन्द्रले कौशल ब्रास ब्यान्ड चलाएका थिए । उनलाई बिहेका लागि ब्यान्डबाजा बुकिङ गर्नु छ भन्दै सम्मरीमाई गाउँपालिका–३, तरैनीमा बोलाएर भारतीय प्रहरीले अपहरणको शैलीमा समातेको उनको परिवारको गुनासो छ ।
उनका भाइ अरविन्द भन्छन्– ‘दाइ (सुमेरचन्द्र) त्यहाँ (तरैनी) पुगेपछि पहिलेदेखि कुरेर बसेका दुई जना अपरिचित व्यक्तिले बलपूर्वक समातेर घिसार्दै सीमापार पुर्याए ।’
गत असोज ६ गते बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिका, मोगलहा चोकबाट सादा पोशाकमा रहेको भारतीय प्रहरीको एक टोलीले ३५ वर्षीय मोहम्मद इस्माइललाई समात्यो । पशुचौपाया खरिदबिक्रीको काम गर्ने उनी ६ वर्षदेखि लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मोहसणमा आफ्ना दिदीभिनाजुसित बस्दै आएका छन् ।
उनका आफन्तहरूको आरोप छ– भारतीय प्रहरीसँगको मोलमोलाइमा नेपाल प्रहरीका केही जवानले नै इस्माइललाई भारतलाई बुझाएका हुन् ।
इस्माइल भारतीय नागरिक हुन् । तर, उनीमाथि कुनै कानुनी अभियोग नरहेको परिवारका सदस्यहरूको दाबी छ ।




उनका आफन्त भन्छन्– ‘उनको कसैसित रिसइबी थिएन, न कसैसँग लेनदेन बाँकी थियो । उनलाई नेपालबाट समातिएर लगियो र पेस्तोल र गाँजासहित भारतमा पक्राउ गरियो भनेर अभियोग लगाइयो ।’
नेपाली सरहदभित्र समात्ने र भारतमा लगेर विभिन्न अभियोग लगाएर कारबाही चलाउने भारतीय प्रहरीको पुरानो हतकण्डाका यी केही उदाहरण मात्रै हुन् ।
भारतमा अपराधिक गतिविधि गरेर नेपाल पसेका अथवा नेपालमा आपराधिक गतिविधि गर्ने भारतीय नागरिकलाई नेपालभित्रै आएर भारतीय प्रहरीले समात्ने र विभिन्न अभियोग लगाएर मुद्दा चलाउने पहिलेदेखिको ‘अभ्यास’ अहिले पनि जारी छ ।
त्यसरी समातिएकाहरूबाट चरेस, गाँजा, अफिमलगायत लागुपदार्थ अथवा पेस्तोल, कारतुस आदि अवैध सामान बरामद भएको अभियोगपत्रमा उल्लेख गर्नु प्रहरीका लागि ‘बायाँ हातको खेल’ मानिन्छ ।
भारतीय प्रहरीको यस्तै हतकण्डाको सिकार लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का ४५ वर्षीय अकरामुद्दिन नाउँ मुसलमान पनि बने ।
यो १२ वर्षअघिको घटना हो । माछा मार्ने मजदुर खोज्न सीमावर्ती कालिदह पुगेका अकरामुद्दीनलाई हतियारधारी भारतीय प्रहरीको एक टोलीले दिउँसै नियन्त्रणमा लिएको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार कालिदहमा चिया पिउँदै गरेका उनलाई भारतीय प्रहरीको एक समूहले समातेको थियो । नजिकै कालीदहमा नेपाल प्रहरीको पोस्ट थियो, तर उनीहरूले कुनै चासो लिएनन् । अकरामुद्दिनले २२ महिनासम्म भारतीय प्रहरी हिरासतमा बन्दी जीवन बिताउनुपर्यो ।
अकरामुद्दिनमाथि भारतीय प्रहरीले गाँजा, हतियार र ग्याङस्टरलगायत विभिन्न १४ वटा अभियोग लगाएर अदालतमा मुद्दा दायर गर्यो ।




अदालतले २२ महिनापछि उनलाई सबै मुद्दामा सफाइ दियो । अहिले उनी लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष छन् ।
नेपाल प्रहरीले २०६७ साल साउन ३० गते नियन्त्रणमा लिएका नवलपरासी सेखुवनवाका रुदल यादव सोही राति भारतीय प्रहरीको इन्काउन्टरमा भारत उत्तर प्रदेशको कुशीनगर जिल्लाको जटहामा मारिएको समाचार सार्वजनिक भयो ।
उनलाई नेपाली प्रहरीले नै समातेर भारतीय प्रहरीलाई बुझाएको स्थानीयको दाबी छ ।
नेपालमा आएर नियन्त्रणमा लिएकाहरूलाई ‘भारतीय भूमिमा पक्राउ गरेको’ दाबी गर्ने र आफैँले सिर्जना गरेका अवैध सामानहरूका आधारमा बढीभन्दा बढी अभियोग लगाएर मुद्दा दायर गर्ने पनि पुरानै हतकण्डा मानिन्छ ।
अझ, ‘फेक इन्काउन्टर’ त प्रहरीको रमाइलो खेल नै भएको सर्वसाधारणको बुझाइ छ ।
भारतीय प्रहरीको यस्तो ‘खेल’ मा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली र भारतीय दुवै फस्ने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।
सुमेरचन्द्र, अकरामुद्दिन, मोहम्मद इस्माइल, रुदलहरू मात्रै भारतीय प्रहरीको खेलमा सिकार भएका होइनन्, वर्षौंदेखि थुप्रैले भारतीय प्रहरीको हतकण्डामा परेर जीवन नै गुमाएका छन् । कतिपयले अनाहकमा वर्षौंसम्म भारतीय जेलमा सड्नुपरेको छ ।
भुक्तभोगीहरू भन्छन्– ‘भारतीय अदालतबाट वारेन्ट जारी गरिएका अभियुक्तहरूलाई मात्रै होइन, भारतीय प्रहरीले अरूहरूलाई समेत नक्कली मुठभेड देखाएर समात्ने गरेका छन् ।’
भारतीय प्रहरीको यस्तो ज्यादतीमा नेपाल प्रहरीको पनि अप्रत्यक्ष सहयोग हुने गरेको जानकारहरू बताउँछन् । नेपाल प्रहरीका प्रायः घुमुवाहरूको सहयोगमा भारतीय प्रहरीले आफ्नो मनपरी कायम राख्दै आएको छ ।
भारतमा अपराध गरेर नेपाल पसेका अथवा नेपालमा अपराध गरी भारत गएका अभियुक्तहरूलाई एक–अर्को देशले बुझाउन सुपुर्दगी सन्धिको व्यवस्था छ । सुपुर्दगी सन्धिले फरार अभियुक्त वा कसुरदारलाई सुपुर्दगी गर्न सकिने गरी नेपालले कुनै विदेशी राज्यसँग गरेको सन्धिलाई जनाउँछ भने यो शब्दले सुपुर्दगीको प्रयोजनका लागि भएको समझदारी समेतलाई जनाउँछ ।
सुपुर्दगी ऐन–२०७० को व्यवस्थाअनुसार ‘कुनै विदेशी राज्यले फरार अभियुक्त वा कसुरदारलाई सुपुर्दगीका लागि नेपाल सरकारसमक्ष अनुरोध गरेमा नेपाल सरकारले त्यस्तो अभियुक्त वा कसुरदारलाई ऐनको अधीनमा रही त्यस्तो राज्यसमक्ष सुपुर्दगी गर्न सक्ने छ ।’
तर, यो कानुन खासै अभ्यासमा आएको देखिँदैन । ऐनअनुसार कारबाही अघि बढाउँदा लामो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने, बढी समय लाग्ने भएकाले पनि प्रहरी ‘सर्टकट’ अपनाउन रुची राख्छ ।
अझ कुनै घटनामा नेपाल सरकारले अभियुक्तलाई सुपुर्दगी नगर्न पनि सक्छ । त्यसैले पनि भारतीय प्रहरीले नेपालमा आएर अभियुक्तहरूलाई समात्नेतर्फ बढी चासो दिने गरेको देखिन्छ । भारतीय प्रहरीको ‘दादागिरी’ मा कतिपय अवस्थामा निर्दोषहरू पनि पिसिने गरेका छन् ।
भारतीय प्रहरीको स्पेसल टास्क फोर्स (एसटिएफ) ले तरैनीबाट नियन्त्रणमा लिइएका सुमेरचन्द्रमाथि भारतको गोरखपुर जोनले ५० हजार भारु पुरस्कार घोषणा गरेको बताइन्छ ।




उनलाई भारतीय प्रहरीले २०६८ सालमा पाँच किलो गाँजासहित भारतको उत्तर प्रदेशको नौतनवाबाट पक्राउ गरेको दाबीसहित महराजगन्ज जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उनी अदालत परिसरबाटै प्रहरीको घेरा तोडेर फरार भएको भारतीय प्रहरीको दाबीसहितको आरोप छ ।
भारतको दैनिक हिन्दुस्तान पत्रिकामा गत मङ्सिर ५ गते प्रकाशित एक समाचार अनुसार सुमेरचन्द्र २०७० सालमा भारतीय प्रहरीको घेरा तोडेर भागेका थिए । उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए ।




सो भारतीय पत्रिकाको समाचारअनुसार सुमेरचन्द्रलाई भारतीय प्रहरीले गाँजा तस्करीको अभियोगमा मुद्दा चलाएको थियो । उनी २८ महिनासम्म भारतीय जेलका कैदी थिए ।
सुमेरचन्द्रले भारतमा अपराध गरेको भए भारतीय प्रहरीले नेपाल सरकारसित सुपुर्दगीका लागि माग गर्नुपर्थ्यो । तर त्यसो नगरीकन भारतीय प्रहरीले दादागिरी शैलीमा नेपाली भूमिबाट उनलाई समातेर लगेको थियो ।
नेपाली भूमिबाट नियन्त्रणमा लिएर सुमेरचन्द्रलाई भारततर्फ लैजान लागेको देखेर प्रतिकार गर्दा पेस्तोल ताक्दै ‘आई एम पुलिस’ भनेपछि आफूहरू पछाडि हटेको प्रत्यक्षदर्शी सम्मरीमाई–५ का झिन्कु यादवले बताए ।
उनी सोही दिन बिहान १० वजे गैडहवा गाउँपालिका–६ लोधपुरवा जान निस्केका थिए । मध्याह्न १२ बजेतिर उनलाई ९८१२९२०८४६ को नेपाली नम्बरबाट ‘ब्यान्डबाजाका लागि बुकिङ’ गर्ने भनेर सीमावर्ती क्षेत्र तरैनी बोलाइएको थियो ।
उनी त्यहाँ पुगेपछि उनलाई कुरेर बसेका दुई जना अपरिचित व्यक्तिले बलपूर्वक समातेर घिसार्दै सीमापार पुर्याएका थिए ।




भारतीय प्रहरीले नेपालबाटै समातेका मोहम्मद इस्माइलका भिनाजु अजिजुल्लाहका अनुसार उनी दाँत दुखेको औषधि किन्न मोहषणबाट मोगलहा चोक गएका थिए ।
त्यहाँ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका घुमुवा अंशु थापा र सादा पोशाकमा रहेका भारतीय प्रहरीले साँझ साढे ६ बजे उनलाई समातेर भारतीय नम्बर प्लेटको कालो रङको स्कर्पियो गाडीमा राखेर लुम्बिनी, पडरिया हुँदै कालिदहको बाटो भारततर्फ लगेका थिए ।
‘भारतीय एसटिएफ र एसओजीको संयुक्त टिमले मलाई मार्ने योजना बनाएका रहेछन् । मलाई उनीहरूले हिरासतमा निकै कुटपिट गरे । एक रात सुनसान ठाउँमा लगेर मलाई भाग्न भने, तर म भागिनँ । सायद मलाई भाग्न लगाएर पछाडिबाट गोली हान्ने योजना थियो,’ अनाहकमा २२ महिनासम्म भारतीय प्रहरी हिरासतमा बन्दी जीवन बिताएका अकरामुद्दिनले त्यतिबेलाको समय स्मरण गर्दै भने, ‘उनीहरूले मलाई भारतका पत्रकारहरूसामु गाँजा र कटुवा पेस्तोलसहित पक्राउ गरेको दाबी गरे । तर, पछि अदालतले मलाई सबै आरोपबाट सफाइ दियो ।’
११ वर्षअघि नवलपरासी सेखुवनवाबाट भारतीय प्रहरीले समातेर सोही रात भारत उत्तर प्रदेशको कुशीनगर जिल्लाको जटहामा ‘इन्काउन्टर’मा मारिएका रुदल यादवबारे दिल्लीबाट प्रकाशित हुने प्रथम इम्प्याक्ट नामक एक मासिक पत्रिकामा समाचार प्रकाशित छ ।




सो पत्रिकाको दाबीअनुसार उनी बिहार राज्यको पश्चिम चम्पारणको बगहवाटाड गाउँका बासिन्दा थिए । रुदल पछि बिहारको सिरसिया र उत्तरप्रदेशको जरारमा बसाइँ सरेका थिए । उनी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए ।
भारतीय पत्रिकाको समाचारमा रुदलबारे जे दाबी गरिए पनि नवलपरासीको सखुवनवाका बासिन्दाहरूका अनुसार उनी २० वर्षदेखि सोही स्थानमा घरजम गरेर सामान्य जीवनयापन गरिरहेका थिए ।
जुनसुकै मुलुकमा आपराधिक गतिविधि गर्नेहरूलाई त्यहाँको सरकारले कानुनी कारबाही गर्न पाउँछ । एउटा मुलुकमा अपराध गरेर अर्को मुलुकमा फरार भएका अभियुक्तहरूलाई सम्बन्धित देशहरूबीचको सन्धि, सम्झौताअनुसार एकअर्काे मुलुकलाई बुझाउने पनि गरिन्छ ।
तर, भारतीय पक्षले सन्धि–सम्झौताको पालना गर्ने तथा वैधानिक र औपचारिक ढङ्गले काम गर्नुभन्दा पनि खुला सिमानाको फाइदा उठाउँदै अनधिकृतरूपमा नेपाल आएर ‘अभियुक्त’ समात्ने प्रवृत्तिलाई नै निरन्तरता दिँदै आएको छ ।




यस्तो प्रवृत्तिको लामो शृङ्खला नै छ । भारतको बिहारबाट विस्थापित भएर नवलपरासीको कुडियामा बस्दै आएका मोसाफिर यादवलाई पनि केही वर्षअघि यस्तै शैलीमा भारतीय प्रहरीको जिम्मा लगाइएको थियो ।
भारतको उत्तर प्रदेश सरकारले मोसाफिर विरुद्ध वारेन्ट जारी गरेको थियो । उनी भारतीय प्रहरीको ‘इनामी अपराधी’ थिए ।
नवलपरासीकै नरसही मियाँटोलका इन्साफ मियाँलाई २०६१ सालमा नेपालमा समातेर भारतमा लगेर मारियो ।
उनको गाउँ मियाँटोल नजिकै पाँच सय मिटरको दूरीमा नेपाल प्रहरी चौकी छ । तर, नेपाली प्रहरीले प्रहरी पोशाकमा हातमा वकीटकी र हतियारसहित नेपाल पसेका भारतीय प्रहरीलाई देखेन ।
यो शृङ्खलामा दुई वर्षअघि रूपन्देही जिल्लाको मर्चवारको एक विद्यालयबाट चार जना गैरनेपालीलाई भारतीय प्रहरीले छापामार शैलीमा समातेको घटना पनि जोडिएको छ ।




घटनाको दुई दिनपछि उनीहरूलाई विशेष सुराकीका आधारमा भारतीय प्रहरीको विशेष सुरक्षा दस्ता (एसटिएफ) ले भारतको काश्मीर प्रान्तबाट पक्राउ गरेको भनेर सार्वजनिक गरियो ।
नेपालमा आएर कसैलाई समात्नुपर्दा भारतीय प्रहरीका सुराकीहरू अनेक रूप धारण गरेर नेपाल आउने गरेको भुक्तभोगीहरूको अनुभव छ ।
रूपन्देहीको मर्चवारबाट प्रकाशित मर्चवार सन्देश साप्ताहिकका कार्यकारी सम्पादक हृदयराम गुप्ता भन्छन्– ‘जबजब नेपाली भूमिबाट मानिस उठाउनुपर्ने हुन्छ, त्यतिबेला भारतीय प्रहरीका सुराकीहरू मगन्ते र पागलको भेषमा छ्यापछ्याप्ती देखिने गर्छन् ।
भारतीय र नेपाल प्रहरीबीचको साँठगाँठ (?)
सुमेरचन्द्रलाई भारतीय प्रहरीले गत मङ्सिर ३ गते दिउँसो ३ बजे सम्मरीमाई–३ स्थित सीमास्तम्भ ५३२ नजिकै तरैनीबाट पक्राउ गर्दा नजिकै नेपालको सशस्त्र प्रहरी थियो ।
सशस्त्र प्रहरीले सो क्षेत्रमा २४सै घन्टा गस्ती गर्ने गरेको छ । तर, भारतीय प्रहरीले दिउँसै सुमेरलाई अपहरणको शैलीमा समातेर लैजाँदा पनि सशस्त्र प्रहरीले कुनै चासो देखाएन ।
सुमेरलाई ९८१२९२०८४६ को नेपाली नम्बरबाट फोन गरेर त्यहाँ बोलाइएको थियो । उनको परिवारको शङ्का छ– सुमेरलाई फोन गर्ने व्यक्ति नेपाल प्रहरीको कोही हुनुपर्छ ।
सुमेरलाई भारतीय प्रहरीले अपहरणको शैलीमा लगेपछि उनका आफन्तले खोजीका लागि मर्चवार इलाका प्रहरी कार्यालयमा निवेदन दिए । तर, नेपाल प्रहरीले अहिलेसम्म कुनै कारबाही नगरेको उनका भाइ अरविन्दले बताए ।
सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादव नेपाली सरहदमा पसेर भारतीय प्रहरीले मनपरी ढङ्गले मान्छे समात्ने गरेका घटना पटकपटक सार्वजनिक हुँदै आएको बताउँछन् ।
उनी भन्छन्, ‘यस्तो प्रवृत्ति अन्तर्राष्ट्रिय मानवीय कानुन, नेपालको संविधान र सार्वभौमिकता विपरीत छ । यसप्रति सरकार गम्भीर हुनुपर्छ ।’
उनको शब्दमा, ‘सुमेरचन्द्र, अकरामुद्दिन जस्ता कैयौँ नेपाली नागरिक भारतीय प्रहरीको दादागिरीको सिकार भएका छन् ।’
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख (प्रहरी उपरीक्षक) मनोज केसीले सुमेरचन्द्र समातिएको घटनाबारे भारतीय प्रहरी अधिकारीहरूसँगको एक बैठकमा कुराकानी भएको बताए ।




‘उनीहरूले सुमेरचन्द्रलाई भारतमै पक्राउ गरेको दाबी गरे पनि छिट्टै रिहा गर्ने भनेको बताए,’ प्रहरी उपरीक्षक केसीले भने, ‘हामी हाम्रा नागरिकको सुरक्षाप्रति संवेदनशील छौँ ।’
जनता समाजवादी पार्टीका नेता महेन्द्र यादव पनि नेपाली भूमिमा हतियारसहित अनधिकृत रूपमा आएर मान्छे पक्राउ गर्ने भारतीय प्रहरीको पुरानै हतकण्डा भएको बताउँछन् ।
उनी भन्छन्, ‘प्रहरीको कानुनविपरीत अभियुक्त साटासाट गर्ने विषय दुवै देशका लागि उचित होइन । प्रहरीको यस्तो व्यवहारले अन्तर्राष्ट्रिय कानुन र सन्धिसम्झौताको उल्लङ्घन गरिरहेको छ ।’
मधेसी बुद्धिजीवी समाजका अध्यक्ष प्राध्यापक त्रिभुवन बरई दुवै देशका सुरक्षाकर्मीहरूको मिलेमतोमा गैरकानुनी ढङ्गले मानिस समात्ने वा सुपुर्दगी गर्ने घटना गलत भएको बताउँछन् ।
उनी भन्छन्, ‘अवैध रूपमा गरिने सुपुर्दगी र बलजफ्ती पक्राउका घटनाले राष्ट्रको सम्प्रभुतामाथि आघात गर्छ ।’




नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बाबुलाल यादव हातहतियारसहित अनधिकृत रूपमा नेपाली भूमिमा मान्छे पक्राउ गर्ने भारतीय दादागिरी शैली कायमै रहेको बताउँछन् । उनको शब्दमा, यो ‘हाम्रो देशमाथिको ज्यादती’ हो ।
नेपाल प्रहरीका अवकाशप्राप्त एक उच्च अधिकारीले अन्तर्राष्ट्रिय कानुन, विधिको शासन तथा विधिको पालनकर्ताहरूले बाटो बिराए जनताको विश्वास क्षीण हुने भएकाले गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘नेपाल राष्ट्रको सार्वभौमिकता र कानुनमा खलल पुर्याउने कुनै पनि घटनामा नेपाली सुरक्षाकर्मीहरू संवेदनशील हुनुपर्छ ।’
रामविकास चाैधरी, कोशी अनलाइन,
Related