रुपन्देही, वैशाख ४ गते । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ४ निवासी नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय प्रतिनिधि रामनयन बरुणले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्नुभएको छ । उहाँले पार्टीको क्षेत्रीय प्रतिनिधि पद र क्रियाशील सदस्यता दुवैबाट राजीनामा दिनुभएको हो ।
आज (वैशाख ४ गते) सार्वजनिक सूचना जारी गर्दै उहाँले आफ्नो निर्णय सार्वजनिक गर्नुभएको छ । राजीनामा पत्रमा बरुणले नेपाली कांग्रेससँगको लामो र भावनात्मक सम्बन्धको स्मरण गर्दै लोकतन्त्रको पक्षमा काम गर्न पाएकोमा गौरव महसुस गर्नुभएको छ । बिपी कोइरालाको आदर्श र लोकतान्त्रिक मूल्य–मान्यतालाई सदैव आत्मसात गर्दै आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको उहाँको भनाइ छ ।
सक्रिय राजनीतिबाट अलग हुनुको कारण खुलाउँदै उहाँले भन्नुभएको छ, “जीवनको यस्तो मोडमा आइपुगेको छु, जहाँबाट यात्रालाई अगाडि बढाउन असमर्थ महसुस गरिरहेको छु । व्यक्तिगत कारण, परिस्थितिजन्य दबाब तथा केही अप्रिय अनुभवका कारण सक्रिय राजनीतिलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेको छु ।”
पार्टीका सहकर्मी तथा अग्रजहरूसँगको सक्रिय सम्बन्ध अन्त्य गर्नुपर्दा आफूलाई गहिरो पीडा भएको उल्लेख गर्दै उहाँले यो निर्णय सहज नभए पनि बाध्यतावश लिनुपरेको स्पष्ट पार्नुभएको छ । आजकै मितिदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको जानकारी दिँदै उहाँले आफूलाई साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ । पदमा नरहे पनि देश र लोकतन्त्रप्रतिको आफ्नो आस्था अडिग रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
लामो समयदेखि पार्टीमा क्रियाशील बरुणको यस निर्णयलाई स्थानीय राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । उहाँको बहिर्गमनले क्षेत्र नं. ४ को राजनीतिक गतिविधिमा प्रभाव पार्ने अनुमान गरिएको छ ।