बुटवल । ‘यो वर्षातमा कसैले पनि सडकपेटीमा बस्न नपरोस्’ भन्ने मानवीय उद्देश्यका साथ सञ्चालित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ अन्तर्गत बुधबार रुपन्देहीका विभिन्न स्थानबाट ५ जना बेवारिसे नागरिकको उद्धार गरिएको छ।
मानवसेवा आश्रम र आनी छोइङ ड्रोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित यस अभियानको टोलीले भोक, असुरक्षा र उपेक्षाबीच सडकमा कष्टकर जीवन बिताउन बाध्य उनीहरूलाई उद्धार गरेको हो। उद्धार गरिएका सबै ५ जना पुरुषहरूलाई हाल रुपन्देहीस्थित मानवसेवा आश्रमको संरक्षणमा राखिएको छ।

बुधबार बिहानैदेखि रुपन्देही र कपिलवस्तु जिल्लाका बजार क्षेत्र, सडक किनारा र सार्वजनिक स्थलहरूमा खटिएको उद्धार टोलीले लामो समयदेखि सडकमै बस्दै आएका ती नागरिकहरूलाई सुरक्षित आश्रयतर्फ ल्याएको हो।
सडकआश्रित मानवहरूको खोजी, उद्धार र संरक्षण गर्दै मानवता प्रवर्द्धन गर्ने लक्ष्यसहित गत वैशाख २७ गतेदेखि यस अभियानको शुभारम्भ गरिएको थियो। यस अभियानले देशका विभिन्न जिल्लाहरूमा पुगेर सडकमा बेवारिसे अवस्थामा रहेका नागरिकहरूलाई नयाँ जीवन दिने कार्यलाई निरन्तरता दिइरहेको छ।
आगामी उद्धार कार्यक्रम: बुधबारको उद्धार कार्य सम्पन्न गरेसँगै, उद्धार यात्रीको टोली बिहीबार चन्द्रौटादेखि नेपालगन्जसम्मका क्षेत्रमा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी तथा उद्धारमा खटिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
