खोजि गर्नुहोस..

मृत्यु जितेर आएको छु, चुनाव जितेर मन्त्री बन्छु : अतहर कमाल

कपिलवस्तु । नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अतहर कमाल मुसलमानले आफ्नो निष्ठा र इमानदार छविका कारण आगामी निर्वाचनमा सानदार जित निकाल्ने दाबी गरेका छन्। उनले निर्वाचन जितेर आफू मन्त्री बन्ने र क्षेत्रको विकासमा समर्पित हुने अठोट समेत व्यक्त गरे।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ (ख) क्षेत्रीय समितिले मायादेवी गाउँपालिकाको पकडीमा आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तरक्रियालाई सम्बोधन गर्दै कमालले उक्त कुरा बताएका हुन्।

“मृत्युबाट फर्किएर आएको हुँ, जनताको गुन तिर्छु” गत वर्षको जटिल मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) पछि जीवनको निकै गम्भीर मोडबाट फर्किएको स्मरण गर्दै उनले भावुक शैलीमा भने, “म सायद आज तपाईँहरू माझ नहुन सक्थेँ। आम नागरिकको आशीर्वाद र मेरो सत्कर्मकै कारण मैले पुनर्जन्म पाएको छु। मृत्युलाई जितेर आएको मलाई अब कुनै गलत तत्वसँग डर लाग्दैन। जनताको यो आशीर्वादको ऋण विकासमार्फत तिर्नेछु।”

गगन थापाको नेतृत्वमा मन्त्री बन्ने दाबी संविधानसभा सदस्य समेत रहेका कमालले पार्टी र नेतृत्वप्रति आफ्नो अटुट निष्ठाकै कारण पार्टी सभापति गगन थापाले आफूलाई विश्वास गरेर टिकट दिएको बताए। उनले भने, “२०७० मा स्वतन्त्र जितेर जाँदा पनि म विचलित भइनँ। अहिले गगन थापाको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा मन्त्री बन्नेमा म ढुक्क छु, तपाईँहरू पनि विश्वस्त रहनुहोस्।”

विकासको एजेण्डा र विपक्षीलाई जवाफ २०४८ सालदेखि ओझेलमा परेको यस क्षेत्रमा आफूले पूर्वाधार, सिँचाइ र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गरेको उनले दाबी गरे। पूर्व प्रदेश  मन्त्री सहसराम यादव र आफूले गरेका विकास कार्य नै आफ्नो जितको मुख्य आधार भएको उनको तर्क थियो।

उनले विपक्षी र असन्तुष्ट पक्षलाई लक्षित गर्दै भने, “अहिले म, सहसरामजी र राजेश आचार्यजी एकै ठाउँमा छौँ। यो धर्मयुद्धमा हामी सत्यको पक्षमा छौँ। माघ २१ मै चुनाव भए पनि आधाभन्दा बढी मत हाम्रो पक्षमा आउँछ। भ्रममा नपरी चुनावी तयारीमा लाग्नुस्।”

नेताहरूको ऐक्यबद्धता कार्यक्रममा पूर्व पार्टी सभापति एवं लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले लोकतन्त्र र अधिकार रक्षाका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे। जिल्ला सभापति अब्दुल कलामले जिल्लाका तीनवटै क्षेत्रमा कांग्रेसलाई विजयी गराउन आह्वान गरे।

यस्तै, पूर्व मन्त्री सहसराम यादवले आफू र अतहर कमालले गरेका विकासका अधुरा काम पूरा गर्न पनि कांग्रेसको जित अनिवार्य रहेको बताए। पूर्व सभापति राजेश आचार्यले आफू सबैभन्दा पुरानो नेता भएर पनि पार्टीको निर्णय स्वीकार गरेको बताउँदै, व्यक्तिगत स्वार्थमा लागेर स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई भ्रम नछर्न चेतावनी दिए। उनले नेता दीपकुमार उपाध्यायप्रति लक्षित गर्दै कार्यकर्तालाई नझुक्किन आग्रह गरे।

कार्यक्रममा पार्टी नेताहरू ललित गुरुङ, राम आशिष पाण्डेय, शोहरत तेली, विश्वम्भर कुर्मी, वजिह अरसद र क्षेत्र नं. १ (ख) का सभापति वलीउद्दिन मुसलमान लगायतले केन्द्रमा कांग्रेसको बहुमत पुर्‍याउन कपिलवस्तुका सबै क्षेत्रमा जित आवश्यक रहेकोमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *