लुम्बिनी । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७, बेतकुइयाँमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा १ सय १० जनाको आँखा परीक्षण गरिएको छ, जसमध्ये ३१ जनामा मोतियाबिन्दु फेला परेको छ । पहिचान भएका सबै बिरामीलाई शल्यक्रियाका लागि बुटवल पठाइएको छ ।
बुटवल लायन्स आँखा अस्पताल, बुटवलको प्राविधिक सहयोग, सम्मरीमाई गाउँपालिका वडा नं. ७ को आयोजना र सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालको समन्वयमा उक्त एकदिने शिविर सञ्चालन गरिएको बुटवल लायन्स आँखा अस्पतालले बताएको छ ।

सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका निवर्तमान अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीका अनुसार, शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि बुटवलस्थित लायन्स आँखा अस्पताल लगिएको र उहाँहरूको शल्यक्रिया २८ गते बुधबार सम्पन्न गरिनेछ ।
“सामान्यतया एकजना व्यक्तिको मोतियाबिन्दु शल्यक्रियाका लागि करिब १२ हजार रुपैयाँ खर्च हुन्छ,“ कुर्मीले भने, “यो शिविरमार्फत बिरामीहरूको सामूहिक रूपमा करिब ३ लाख ७२ हजार रुपैयाँ बचतहुने भएको छ ।” यस किसिमका शिविरले ग्रामीण क्षेत्रका बिपन्न बिरामीलाई आर्थिक भार कम गरी आँखाको ज्योति पुनःजागृत गराउन महत्वपूर्ण भूमिका खेल्ने कुर्मीको भनाइ छ ।
गणेश गुप्ताको नेतृत्वमा गएको बुटवल लायन्स आँखा अस्पतालको ७ जनाको प्राबिधिक टोलीले आँखा जाँच गरेको सम्मरीमाई गाउँपालिका वडा नं.७ का अध्यक्ष राधेश्याम कुर्मीले बताए ।…