राम बिकास चौधरी । लुम्बिनी । ‘बुद्ध’जन्मस्थल लुम्बिनी एक श्रद्धा र आस्थाको केन्द्र हो । यसलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर, बुद्ध जीवनसँग गहिरो सम्बन्ध राख्ने नजिकैको ‘रोहिणी नदी’ अझै पनि इतिहासको ओझेल पानामा हराईरहेको विषय बनेको छ ।
बृटिस पूरातत्वबिद एलेक्जेण्डर कनिङ्घमले ‘द एन्सियन्ट जिओग्राफी आफ इण्डिया, द बुद्धिष्ट पिरियड’ (पृष्ठ संख्या ४१६)मा लेख्नु भएको छ, “कपिला र कोलीका बासिन्दाहरूले आफ्नो धानखेतलाई सिंचाइ पुर्याउने उद्देश्यले रोहिणी नदीको पानी वितरणको विषयमा विबाद गरेका थिए ।”
“सिलोनी इतिहासहरूका अनुसार, रोहिणी नदी कपिला र कोली दुबै शहरहरूको बीचबाट बग्दथ्यो, जहाँ कोली शहर बुद्धकी आमा मायादेवीको जन्मस्थल थियो” उहाँको कृतिमा उल्लेख छ ।
रोहिणी नदीको ब्याख्यागर्दै कनिङ्घमले अगाडी लेख्नुभएको छ, “यी सबै विवरणहरूबाट मैले यो निष्कर्ष निकाल्छु कि रोहिणी नदी वर्तमानको कोहाना खोला नै हो, जो नगरको पूर्वमा ६ माइल टाढा दक्षिण–पूर्व भएर बग्दछ ।” उहाँको भनाइ अनुसारको दूरीमा दानव बाहेक अन्य खोला छैन ।

कनिङ्घमले सोही पृष्ठमा लेख्नु भएको छ, “कपिला र कोली दुबै शहरहरूको बीचमा सालको रूखहरू भएको लुम्बिनी नामक एक सुन्दर उद्यान थियो, जहाँ दुबै शहरका बासिन्दा मनोरञ्जनका लागि आउने–जाने गर्थे । मायादेबीले त्यहाँ विश्राम गर्नुभयो, उहाँले शिशु बुद्धलाई जन्म दिनुभयो् ।”
भारतीय लेखक विजय मिश्रले कपिलबस्तु–लुम्बिनी दिग्दर्शन(१९५४)पेज नं.३१, ‘लुम्बिनीको खोज’ उप शिर्षकमा लेख्नु भएको छ, “सिंहली अनुश्रुतीका अनुसार रोहिणी नदी कपिलबस्तु र कोलिय नगरको मध्यबाट बगेको थियो । त्यही कोलिय नगरमा महामाया देबीको जन्म भएको थियो ।
“दुबै नगरका बीच एक राजकीय शालोद्यान थियो, जसलाइ लुम्बिनी भनिन्थ्यो । त्यहाँ दुबै नगरका बासिन्दा आउने–जाने गर्नुहुन्थ्यो” मिश्रले लेख्नु भएको छ, “यी उद्धरणहरुका आधारमा कोहान नदीलाइ नै रोहिणी भन्न सकिन्छ । जुन नगरबाट ६ मील पूर्बहुदै पूर्ब–दक्षिण दिशामा बगेको छ ।”
यही भनाइलाई पुष्टि गर्ने अर्को ऐतिहासिक दस्तावेज हो, ‘द ट्रवेल्स अफ फाहियान आर द रेकर्ड अफ बुद्धिष्टिक किंडम’ । यो कितावको च्यप्टर २२, पेज ६४ को फूटनोटमा लेखिएको छ, “रोहिणी नदीको किनारमा लुम्बिनी अवस्थित छ ।” जसले शाक्य र कोलीबीचको सीमारेखा निर्धारण गर्दथ्यो ।
कोलियको स्थितिलाइ शंकास्पद मान्दै कनिङ्घमले यसलाई रोहिणी नदीबाट ३ माइल पूर्वमा रहेको लेख्नु भएको छ । “बुकाननले रोहिणीलाई ‘एउटा राम्रो सानो खोला’ भनेर वर्णन गर्नु भएको छ्, जसले आफ्ना शाखाहरूमार्फत दक्षिण–पूर्वी भागहरूलाई उर्वर बनाउँछ”, उहाँको किताबमा उल्लेख छ ।
चौथो शताब्दीका चिनियाँ तीर्थयात्री फाहियानले पनि लुम्बिनीबाट ६ माइल पूर्ब–दक्षिणतर्फ बग्ने रोहिणी नदीको उल्लेख गर्नु भएको छ । फाहियानले यस नदीलाई ‘कोहान’ नामले चिनाउनु भएको छ, जुन चौथो शताब्दीको चिनिया उच्चारण ‘कोहान’, ‘कूआन वा ‘क्वाना’ सँग मेल खान्छ । यस आधारमा पनि आजको दानव खोला नै बुद्धकालीन रोहिणी नदी भएकोमा कसैले शंका गरिरहनु पर्दैन ।
त्रिभुवन विश्व विद्यालयका उपप्रध्यापक डा.त्रिभुवन बरइले भन्नुभयो, “बुद्धकालीन सामाजिक र राजनीतिक संरचनालाई बुझ्न रोहिणी नदीको अध्ययन अनिवार्य छ ।” उहाँका अनुसार, “शाक्य–कोलिय संघर्षले तात्कालीन गणराज्य व्यवस्थाको सीमा, अधिकार र समझौताको आधार देखाउँछ ।”
“रोहिणीएक प्राकृतिक सम्पदा मात्र होइन, बौद्धकालीन सभ्यता, प्राचीन कृषि संघर्ष र क्षेत्रीय राजनैतिक सन्तुलनको पनि साक्षी हो”, डा.बरइले भन्नुभयो, “बुद्धकालीन रोहिणी नदी शाक्य र कोलिय राज्यको मध्यबाट बग्ने नदी हो जहाँ यी दुइ राज्यबिच सिंचाइका लागी जल–विवाद भएको थियो ।”
बौद्ध साहित्यहरुमा ‘रोहिणी नदी’को अभिलेख विशेषगरी पाली ग्रन्थ (विनय पिटक, महाभग्गा), चिनियाँ यात्री फाहियान र ह्वेनसाङ्गको यात्रा वृत्तान्त, फा–हियनद्वारा लिखित बौद्ध राज्यहरूको अभिलेख, अलेक्ज्याण्डर कनिङ्घमका पुरातात्विक सर्वेक्षणहरू, स्थानीय समाजसेवी तथा वृद्धवृद्धाको मौखिक बृतान्त, रूपन्देहीको भू–नक्सा तथा नदी प्रवाह विश्लेषण रिपोर्ट लगायतका किताबहरुमा पाइन्छ ।
बुद्ध जन्मस्थल र बुद्ध वचनको प्रचार–प्रसार संसारभर भइरहदा बुद्धकालीन इतिहाससँग जोडिएको एक महत्वपूर्ण नदी ओझेलमा परेकोे बौद्ध विद्वानहरुको दुःखेसो छ । बौद्ध दर्शनमा स्नातक गर्नुभएका भोला गुप्ताले भन्नुभयो, “रोहिणी नदी बुद्धको नेतृत्व कौशलको प्रयोग भएको एक महत्वपूर्ण स्थल हो ।”
“बौद्धकालीन सभ्यता, क्षेत्रीय सन्तुलन, जल विवाद र सामाजिक समन्वयको जीवन्त साक्षी रोहिणी नदी शाक्य (बुद्धका पितृकुल) र कोलिय (मातृकुल) राज्यबीचको सिमानामा बग्दथ्यो” उहाँले भन्नुभयो, “यसै नदीको पानी बाँडफाँडको विषयमा यी दुई छिमेकी राज्यबीच युद्धको स्थिती उत्पन्न भएको थियो ।”
सोधपुछका आधारमा बुटवलको तिनाउँ नदीको सानो शाखा २०३८ सालको बाढीपछि मात्रै कञ्चन नदीमा मिसिएको स्मरणगर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध साहित्वमा स्नातकोत्तर गर्नुभएका बौद्ध विद्वान एवं ६८ वर्षीय मेघनाथ आचार्यले भन्नुभयो, “त्यो भन्दा अघि कञ्चनको बहाव स्वतन्त्र थियो, जो मर्चवारको दुइमोहान घाटमा तिनाउसँग मिसन्थ्यिो ।” यसले देखाउँछ कि नदीको स्वरूपमा समयानुसार धेरै परिवर्तन भइसकेको छ, तर त्यसको ऐतिहासिक पृष्ठभूमि अझै पहिचानयोग्य छ ।”
“दुइ नगरको सिमा छुट्याउने रोहिणी नदीको इतिहास र यसको साक्ष्य अब केवल पुस्तकका पानामा सीमित रहनु हुदैन”, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँनले भन्नुभयो, “यसको अस्तित्व र नक्शा समेत प्रमाणितगरी नेपाल लगायत सम्पूर्ण विश्व समाजलाई समन्वय, सहकार्य र जलव्यवस्थापनको नयाँ पाठ सिकाउने एक जीवित उदाहरणको रुपमा ब्याख्या गर्नुपर्ने जरुरी छ ।”
“तमाम साक्ष्य, प्रमाण र हामी स्थानीयबासीको गवाहीले डाक्टर फ्रन्सिस बुकाननले भनेजस्तै बुद्ध जन्मस्थल लुम्बिनी नजिकै शुन्दर सानो खोलाको रुपमा बगेको अहिलेको दानव अर्थात कन्चन नदी नै बुद्धकालीन रोहिणी नदी भएकोमा दुइ मत छैन”, महाअभियानका संयोजक खाँनले भन्नुभयो ।
“बुद्धले रोहिणी नदीको जल विवाद समाधान गर्दा दिनुभएको उपदेशलाई जल स्रोत व्यवस्थापन, द्वन्द्व समाधान, र सह–अस्तित्वको सन्देशका रूपमा प्रयोग गर्न सकिन्छ”, लुम्बिनी बचाउ महाअभियानको सह–संयोजक लक्ष्मी थारूले भन्नुभयो, “याी केवल जल स्रोत मात्र होइन, समयको साक्षी र सभ्यताको प्रतिबिम्ब पनि हो ।” अहिलेको दानव नदी नै बुद्धकालीन रोहिणी नदी भएको लक्ष्मीको दाबी छ ।
लुम्बिनीका स्थानीय बौद्ध भिक्षु धम्म शिद्धीका अनुसार, “शाक्य र कोलीय वंशबीचको रोहिणी जल विवाद बुद्धले कूटनीतिक संयमता र करुणाका साथ समाधान गर्नुभएको ऐतिहासिक उदाहरण हो ।” जसले तत्कालीन जल व्यवस्थापन, अन्तर–राज्य सम्बन्ध र मध्यस्थता क्षमताको गहिरो सन्देश दिन्छ ।
हालकोे भूगोल हेर्दा, दानव नदी रूपन्देही जिल्लाको मध्य भाग मर्चवार क्षेत्रहुदै बगेको छ । यसको उदगमस्थल शिवालिक(चुरे) पर्बत हो । यो नदी गैडहवा गाउँपालिका वा नं. ४ सुर्यपुराहुदै लुम्बिनी– मर्चवार क्षेत्रको मध्यभागबाट भारतको उत्तर प्रदेश स्थित राप्ती नदीमा गएर मिसिएको छ । नदीको बहाव दिशा, पुराना जलमार्ग, मानव बसोबासको फैलावट, पूरातात्विक साक्ष्य एवं प्रमाणहरु हेर्दा दानव नदीको पश्चिममा शाक्य र पूर्बी तटियक्षेत्र पुरातन कोलियहरूको भूमि भएको प्रमाणित हुन्छ ।
कनिङ्घमको सर्वेका आधारमा पनि बुद्धकालनि रोहिणी नदीको प्रवाह हालको कन्चन अर्थात दानव नदीको मार्गसँग धेरै हदसम्म मेल खान्छ । स्थानीयले ‘दानव’ नदीलाई कतिपय स्थानमा अझैपनि ‘कन्चन’, ‘हरैवा’, ‘रोहिणी’ ‘तिनाउ’ र ‘दुइमोहान’ आदि नामले चिन्ने गर्दछन । भारत झरेपछि यसै नदीलाइ ‘राप्ती’को नामले पनि चिनिन्छ । यो भाषिक अपभ्रंशका कारण र समयचक्रको नाम क्रममा परिवर्तन भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका संस्थापक नगर प्रमुख मनमोहन चौधरीले बताउनुभयो ।
“रूपन्देहीको मर्चवार र लुम्बिनी क्षेत्रमा भएका पुरातत्विक साक्ष्य, उत्खननहरूले बुद्धकालीन बसोबास, ईँटाका भग्नावशेष, जल व्यवस्थापन प्रणाली र खेतीपातीसँग सम्बन्धित प्रमाण प्रसस्त भेटिएका छन् । अर्को पक्ष, दानव नदी आसपासमा पुराना बस्ती, ऐतिहासिक पोखरी र बौद्धकालीन भग्नावशेष समेत फेला परेको क्षेत्र नै रोहिणी नदीको ऐतिहासिक सन्दर्भसँग मेल खान्छ”, लुम्बिनी प्रदेश सांसद एवं पूर्ब प्रदेशमंत्री वसीउद्दीन खाँनले भन्नुभयो । दानव नै बुद्धकालीन रोहिणी नदी भएको उहाँको दाबी छ ।
भाषाशास्त्रीय दृष्टिले समयक्रममा नदी, गाउँ वा स्थानहरूको नाम अपभ्रंश वा स्थानीय भाषामा रूपान्तरण हुनु स्वाभाविक प्रक्रिया हो । ‘रोहिणी’ शब्द प्राकृत वा संस्कृत मूलको हो भने ’दानव’ नाम कतैबाट विकृत भएर अथवा स्थानीय बोलचालको स्वरूपमा परिणत भएको सम्भावना विद्यमान छ ।
यद्यपि दानव नदीलाई नै ऐतिहासिक रोहिणी नदीका रूपमा प्रमाणित गर्ने विषयमा सरकारी तथा गैरसरकारी तहबाट अनुसन्धान तीव्र पारिनुपर्छ । पुरातत्व विभाग, जलश्रोत विज्ञहरू र इतिहास विद्हरूको संयुक्त टोली बनाएर यसबारे विस्तृत अध्ययन गरिनुपर्छ । यसैगरी स्थानिय तहमा पनि रोहिणी अर्थात दानव नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र ऐतिहासिक महत्वको प्रचारप्रसार हुनुपर्छ ।
पुरातत्वका विद्यार्थी चन्द्र प्रकास पाठक भन्नुहुन्छ, “बुद्ध जन्मस्थल लुम्बिनी र मर्चवार क्षेत्रमा दानव नदीले हजारौं बिघा खेती सिँचाइ गर्छ । नदीको उदगमस्थल, बहाव, दिशा, आसपासको भूगोल र नदी छेउका पुराना बस्तीहरू हेर्दा यही नै ऐतिहासिक रोहिणी नदी हुनसक्ने सम्भावनाले बल पाउँद्छ ।”
भारतीय बौद्ध विद्वान डा.ए.के.नारायणका अनुसार, “रोहिणी नदी मानव इतिहासमा रेकर्ड गरिएको पहिलो वातावरणीय द्वन्द्वहरु मध्येको एक हो, जसको मध्यस्थता स्वयम् बुद्धले गर्नुभएको थियो ।” यो नदीलाई शाक्यवंश र कोलीय नगरबीचको भौतिक सीमा मात्र होइन, नैतिक र आध्यात्मिक सीमा पनि मानिन्छ । रोहिणी त्यही नदी हो, जहाँ तथागत गौतम बुद्धले दुइ बंश बीचको युद्ध रोक्न हस्तक्षेप गर्नु भएको थियो । त्यहाँ युद्धको परिस्तिमा पनि उहाँले शान्तिको सिद्धान्त स्थापित गर्नु भएको थियो ।
“पुराना मान्छेहरू यही नदीलाई रोहिणी भन्थे” मर्चवारका कोटहीमाइ गाउँपालिकाका अध्यक्ष ८५ वर्षीय बाल कृष्ण त्रिपाठी सम्झिनु हुन्छ, “पछि पछि दानव भनेर चिनाउन थाले ।” उहाँको भनाइमा, ’रोहिणी’ शब्द संस्कृत मूलको हो । समयक्रमको बोलि, स्थानीय भाषाशैली र अपभ्रंशका कारण ‘दानव’मा परिणत भएको भाषिक आधारहरू छन् । खासगरी सीमावर्ती तराई क्षेत्रमा यस्ता परिवर्तनहरु सामान्य छन ।
दानव नदी क्षेत्र वरीपरी भएका उत्खनन र अनुसन्धानहरूले बुद्धकालीन बस्ती, जलनिकास प्रणाली, प्राचीन ईँटाका अवशेष फेला पारेका छन । चिनियाँ तीर्थयात्री फाहियान (ई.सं. ४०५ तिर) र ह्वेनसाङ्ग (ई.सं. ६३०) ले लेख्नु भएको यात्रा बृतान्तले पनि सम्भवतः यही नदीलाई रोहिणीको रूपमा उल्लेख गर्नु भएको छ । अहिलेको भूगोलमा उहाँहरूको बृतान्त र रोहिणी नदी बिच गहिरो सम्बन्ध देखिन्छ ।
स्थानिय तह, इतिहासविद् र अनुसन्धानकर्ता मिलेर अझ व्यवस्थित नक्साङ्कन, जलमार्गको पुरातात्विक परीक्षण र दानव नदी वरपरको पुरानो मानव बसोबास अध्ययन गर्नुपर्ने आवाज उठ्दैछ । “यदि दानव नै बुद्धकालीन रोहिणी नदी हो भने यो विश्व बौद्धधर्मको इतिहासका लागि ठूलो खोज हुनेछ,” भन्छन् इतिहासविद् डा. चूडामणि बराल, “तर यसलाई प्रमाणित गर्न वैज्ञानिक अनुसन्धान अनिवार्य छ ।”
“आज पनि दानव नदी मर्चवारका किसानका लागि जीवनरेखा नै हो । गर्मी, वर्षात र पानीको चक्रमा यहाँका खेतबारी यसैकोे भरमा निर्भर छन् । ठ्याक्कै बुद्धकालीन सन्दर्भजस्तै, जहाँ रोहिणी नदीको पानीका कारण खेत, जनजीवन र राजनीति प्रभावित हुन्थ्यो, दानव नदीका छालहरूमा आज पनि इतिहास बगिरहेको छ” सम्मरीमाइ गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताउनुुभयो ।
गाउँपालिका अध्यक्ष श्रीवास्तवका अनुसार, “फरक यति मात्रै हो, २५ सय वर्ष अघिको रोहिणीको जल विवाद अहिले आएर खोज अनुसन्धानको विषय बनेको छ । यो नदीको शोधखोज र अनुशन्धानभइ प्रमाणित गर्न सकियो भने, बुद्धकालीन रोहिणी नदीसँगै लुम्बिनी र मर्चवार क्षेत्र मात्र होइन, नेपाल लगायत सम्पूर्ण विश्व बौद्ध धार्मिक मानचित्रमा लुम्बिनीको मूल्य झनै बढ्ने प्रायः निश्चित छ ।”
लुम्बिनी बिकास कोष पूरातत्व महाशाखाका प्रमुख हिमाल उप्रेतीका अनुसार, “कुनै पनि नदीको पुरानो मार्ग ट्रेस गर्न कठिन छ । यसको स्वरूपमा व्यापक परिवर्तन आइसकेको हुन्छ । तर पूरातत्व विभागले बुद्धकालीन रोहिणी नदीका प्रमाण संकलनगरी त्यसको संरक्षण र प्रवर्धनमा लाग्न आवश्यक छ ।”